तीजले बजारमा चहलपहल तर विगतजस्तो छैन व्यापार, सस्तो सामान ग्राहकका रोजाइमा

बिजमाण्डू
२०८० भदौ २८ गते ०९:३४ | Sep 14, 2023
तीजले बजारमा चहलपहल तर विगतजस्तो छैन व्यापार, सस्तो सामान ग्राहकका रोजाइमा


काठमाडौं। तीज आउन अब केही दिनमात्रै बाँकी छ। बजारमा किनमेलका लागि महिलाको भीड बाक्लिएको छ। कुर्ता सुरुवाल, साडी, चुरा, पोतेका साथै शृंगारका सामान किन्नेको भीडले राजधानीको न्युरोडदेखि असन बजारसम्म चहलपहल बढेको छ।

Tata
GBIME
NLIC

तीजको संघारमा बजार जति भीड देखिएको छ त्यसले मनग्ये व्यापार हुनुपर्ने हो। तर‚ व्यवसायीहरु बजारलाई मन्दी लागेको बताउँछन्। उनीहरुका अनुसार बितेका वर्षहरुका तुलनामा यसपटक व्यापार थोरै छ। ग्राहक सस्ता सामान हेर्छन्‚ खर्च अडकलेर गरिरहँदा व्यवसायीका अपेक्षा अनुसार कारोबार नबढेको हो।

असन साडी लेहेंगाको व्यापार गर्दै आएका जयमाता दी मायादेवी ट्रेडर्सका सञ्चालक जितेन्द्र प्रसादले बजार गुलजार जस्तो देखिए पनि व्यापार विगतमा जसरी नभएको बताए। केही पसलमा भीड भए पनि सामान किन्नेको संख्या न्यून रहेको उनको बुझाइ छ।

‘व्यापार निकै घटेको छ। बजारमा मान्छेहरु देखिए पनि किन्न खोज्दैनन्। अहिले मान्छेसँग पैसा छैन। पहिले यो बेला लाखौं कमाइ हुन्थ्यो। अहिले मुस्किलले २५ हजारको बिक्री भइरहेको छ‚’ उनले भने।

विशालबजारमा रहेको बंसल पोते माला भण्डारका सञ्चालक सञ्जय बंसलको गुनासो जितेन्द्रभन्दा फरक छैन। गत वर्ष उनको पसलमा तीजको समयमा भीड त थियो नै, सँगै व्यापार फस्टाएको थियो। तर यसपटक मन्दी छाएको उनले सुनाए।

‘पहिले तीजको सिजनमा हाम्रो पसलमा ग्राहकको निकै घुइँचो लाग्थ्यो। दैनिक एक लाखसम्म कमाइ हुन्थ्यो। अहिले दिनमा १५ हजार कमाउन पनि मुस्किल भइरहेको छ,’ उनले भने।

तीज आउन एक महिनाअघि देखि नै असनमै रहेको होलसेल पसल इक्रामा इन्टरप्राइजेजमा बाक्लो भीड हुन्थ्यो। खुद्रा बिक्रेताहरु आआफ्नो अर्डरका सामान लिन पालो पर्खन्थे। तर, यसपटक पहिलेजस्तो खुद्रा व्यापारीबाट चुराको माग नभएको पसल सञ्चालक मरियम हुसेन खान बताउँछिन्।

‘पाेहाेरभन्दा ४० प्रतिशतले कमी आएको हो। पहिले तीजको बेला हाम्रो पसलमा खुट्टा राख्ने ठाउँ हुँदैन्थ्यो। योपटक भने खुद्रा व्यापारीबाट खासै चुराको माग छैन। उहाँहरु सामान लिन डराइरहनु भएको छ,’ उनले भनिन्, ‘मन्दीको बेला उहाँहरुले रिस्क लिन नचाहेको होला।’

यस्तै, साउन सुरु हुनुअघि नै इन्द्रचोकस्थित कश्मिरी बजारमा पोते किन्नेको भीडभाड हुन्थ्यो। तर, यो वर्ष भने तीजको बेला पनि राम्रो व्यापार गर्न नसकेको आशिफ महम्मदले बताए।

पुस्तौनी व्यवसाय सम्हाल्दै आएका उनले आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेको सुनाए।

‘साउनको महिना कमाइ नभएपछि तीजमा होला भन्ने आस थियो। तर, मन्दीले गाह्रो बनायो। कोरोनादेखि बिग्रेको व्यापारले लय समात्न सकेको छैन‚’ उनले भने ।

सस्तो सामान ग्राहकको रोजाइमा

आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको छ। जसकारण ग्राहकहरु अहिलेको तीजमा सस्तो सामान रोज्न थालेको व्यापारीहरु बताउँछन्।

अरु वर्ष असनस्थित गुरुकृपा कलेक्सनमा कुर्ता र साडी किन्ने महिलाहरुको बाक्लै उपस्थिति थियो। तर, ग्राहकहरुले सस्तो सामानहरु खोज्दा गत वर्षझैं व्यापार हुन नसकेको पसलका सञ्चालक श्याम कर्माचार्यले बताए।  

‘मन्दीको असरले यसपाली व्यापार कम छ। गतवर्ष तीजको सिजनमा ५ हजारसम्मका साडीहरु बिक्री हुन्थे। तर, अहिले ग्राहकहरु सस्तो साडिको खोजिरहेका छन्। १ हजार/१५ सयको साडिहरु बढी गइरहेको छ।’

ग्राहकहरुको किन्ने क्षमता नभएपछि पहिले भन्दा कम नाफा राखेर बेच्न बाध्य भएको उनी बताउँछन्।

भन्छन्, ‘हामीले पनि बाध्य भएर कम नाफामा बिक्री गर्नुपरेको छ। पहिले ३५ सय पर्ने कपडालाई अहिले २५ सयमा दिन थालेका छौँ। गतवर्ष दैनिक १ लाखसम्म व्यापार अहिले घटेर ६० हजारमा झरेको छ।’

मासंगल्लीस्थि शोभा सारी स्टोरमा भने तीजमा राम्रै व्यापार भइरहेको छ। आफूहरुले सुलभ मूल्यमा सामानहरु बेच्ने भएर ग्राहकहरु आएको पसलका सञ्चालक रेश्मा रौनियारले बताइन्।

‘हाम्रो पसलमा राम्रै व्यापार भइरहेको छ। पहिलेभन्दा ग्राहकको पर्चेज क्यापासिटी (क्रयशक्ति) चाहिँ धेरै घटेको छ। पहिले तीजको बेला २ हजारदेखि ५ हजारको साडी बिक्री हुन्थ्यो। तर, अहिले पाँच सयदेखि एक हजारको सारी बिक्री भइरहेको छ,’ उनले भनिन्।

नक्कली गहना बेच्ने मालामाल

तीजको सिजनमा पनि यसवर्ष सुनको व्यापार पनि बढ्न सकेको छैन। आर्थिक मन्दीको प्रभाव त्यसमाथि महँगिएको सुन किन्न उपभोक्ताहरु छाडेका छन्। नक्कली गहनामा भने ग्राहकहरुको आकर्षण बढेको व्यवसायीहरु बताउँछन्।

तीजको सिजनमा कस्मेटिक, ब्युटीपार्लर र गिफ्ट सपलगायतका पसलमा नक्कली गहना किन्न महिलाहरुको बाक्लै उपस्थिति देखिन्छ। सस्तो अनि नयाँ-नयाँ डिजाइनका आउने कारण नक्कली गहनाहरु उपभोक्ताको रोजाइमा ‍परिरहेका छन्।

तीजको सिजनमा नक्कली गहनाहरुको व्यापार राम्रै भइरहेको व्यापारी सञ्जय श्रेष्ठ बताउँछन् । श्री जय माता मनकामना पसलमा नक्कली गहना किन्ने उपभोक्ताको माग बढिरहेको उनले सुनाए।

‘मन्दीको बेला भए पनि उपभोक्ताहरुमा नक्कली गहनाको राम्रो डिमाण्ड छ। सस्तो मूल्यमा मिल्ले भएर तीजमा यसको मार्केट बढिरहेको छ। पसल बढे पनि अहिले २५ हजारसम्मको व्यापार भइरहेको छ।’

पहिले निम्न तथा मध्यमवर्षको रोजाइमा पर्ने भएपनि पछिल्लो समय जलपी सुनका गहना उच्च वर्गका महिलाले पनि प्रयोग गर्न थालेको उनले बताए।