
मेटाका मालिक मार्क जुकरबर्गले थ्रेड्सले आधाभन्दा बढी प्रयोगकर्ता गुमाएको बताएका छन्। यो महिनाको सुरुवातमा ट्वीटरलाई टक्कर दिँदै मेटाले इन्स्टाग्रामबाट पावर्ड थ्रेड्स लन्च गरेको थियो।
थ्रेड्सले ५ दिनमा १० करोड प्रयोगकर्ता बनाएको थियो। पछिल्लो समय भने थ्रेड्सका प्रयोगकर्ता घटेको मार्कले स्वीकारेका हुन्। उनले यो अवस्थालाई ‘सामान्य’ भनेका छन् र एपमा नयाँ फिचर थप्ने बताएका छन्।
सुरुवातमा थ्रेड्समा साइन अप गर्नेहरुको संख्या उच्च भए पनि पछि गएर प्रयोगकर्ताहरु त्यसप्रति आकर्षित नभएका हुन्। थ्रेड्सको लुकदेखि फिचरहरुमा सुधारको आवश्यकता रहेको प्रयोगकर्ताहरुले बताइरहेका छन्। मेटाले अहिले फेरि नेटिजन्सलाई थ्रेड्समा आकर्षित गर्न ‘रिटेन्सन ड्राइभिङ हुक्स’ राख्ने तयारी गरेको छ।
अहिले थ्रेड्समा साइन अप गर्न इन्स्टाग्राम अकाउन्ट हुन आवश्यक छ। त्यसैले इन्स्टाग्रामबाट पनि प्रमुख थ्रेड्स हेर्न मिल्ने फिचर बनाउन लागिएको छ।
जुकरबर्गले कर्मचारीहरुलाई मेटाभर्स निर्माणको कार्यमा लाग्न समेत भनेका छन्।