
काठमाडौं। सरकारले अबदेखि बर्खाको समयमा जथाभाबी सडक खन्न रोक लगाउने भएको छ। सडक विभागले निकालेको सूचनाअनुसार असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको हो।
विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने अवस्था सृजना हुने भन्दै सडक खन्न रोक लगाएको हो। साथै यसरी वर्षामा सडक खन्दा थप बिग्रिँदै जाने विभागको भनाइ छ।
असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ।
‘सडक पनि थप बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा भनिएको छ।