काठमाडौं । अफसिजन र प्रतिश्पर्धा बढेपछि दिल्ली-काठमाडौं उडान भर्ने सबै वायुसेवा कम्पनीहरुले भाडा घटाएका छन् । केही महिनाअघिसम्म खाडी मुलुकबाट दिल्ली हुँदै काठमाडौं आउँदा सस्तो पर्ने भएपछि धेरै यात्रु यही रुट भएर आउजाउ गर्थे ।
तर अहिले खाडी मुलुकबाट काठमाडौं उडान गर्ने वायुसेवा कम्पनीले नै भाडा घटाएपछि दिल्लीबाट काठमाडौं आउने यात्रुको चाप कम भएको बताउँदै वायुसेवा कम्पनीले हवाइ भाडा ह्वात्तै घटाएका हुन् ।
गत दशै तिहारमा ४५ हजारको हाराहारीमा पुगेको दुईतर्फी टिकटको मूल्य अहिले १६ हजार रुपैयाँमा बेचिरहेका छन् । यो भाडा तीनवर्ष यताकै सबै भन्दा सस्तो भएको ट्राभल्स एजेन्सी तथा टिकेट बिक्रेता बताउँछन् ।
गत पुस दोस्रो सातादेखि घटेको हवाई भाडा चैतसम्म यही दरमा रहने गण्डकी ट्राभल एण्ड टुर्सका सेल्स एण्ड रिजर्भेर्सन प्रबन्धक राजु लावाजूले बताए । उनले भने, ‘जनवरी पहिलो सातादेखि घटेको हवाइ भाडा मार्चसम्म यही दरमा बिक्री हुन्छ । त्यसपछि सिजन लाग्छ अनि बढाउँछन् ।’
अहिले काठमाडौंमा चिसो र नेपाल घुम्न उपयुक्त मौसम नभएको बताउँदै पर्यटक नेपाल आउँदैनन् ।
दिल्लीबाट काडमाडौं उडान भर्ने जेट एयरवेज, एयर इन्डिया, इन्डिगो, स्पाइस जेट र भुटानको ड्र्युक एयर सबैले भाडा घटाएका छन् । यी सबै वायु सेवा कम्पनीले विजेनेश र इकोनोमी क्लास दुबैमा भाडा घटाएका छन् ।
नेपालको राष्ट्रिय ध्वजाबहाक वायुसेवा नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडान बन्द गरेपछि हवाइ भाडामा चर्को मूल्य बृद्धि गरेका यी वायुसेवा कम्पनीले अहिले अफ सिजन भन्दै यात्रुहरु आकर्षित गर्न निकै कम मूल्यमा हवाइ भाडा लिने गरेका प्रेसिडेन्ट ट्राभल ग्रुपका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले बताए ।
उनले भने, ‘माग र आपूर्तिको नियम अनुसार भारतीय वायुसेवा कम्पनीले पनि हवाई भाडा घटाएका छन् । अहिले यात्रुहरुको चाप कम छ त्यसैले भाडा घटाएका हुन् । चाप बढेसँगै फेरि बढाउँछन् ।’
उनले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेकोले पनि एयरलाइन्सले भाडा घटाइरहेको जानकारी दिए । उनले भने, ‘भाडा घट्नुमा धेरै फ्याक्टरले काम गर्छ । विश्व बजारमा तेलको मूल्य पनि घटिरहेको छ, यसले पनि भाडा घटेको हो ।’
पेट्रोलियम पदार्थको मूल्य अझै कम भएमा अहिलेको भाडा भन्दा झन् सस्तोमा वायुसेवा कम्पनीले टिकट बेच्ने उनले बताए । उनले भने, ‘तेलको भाउ घटे भारतीय एयरलाइन्सको मात्रै होइन सबै ठाउँको हवाइ भाडा घट्न सक्छ ।’
निगमले उडान गरेको समयमा चार हजार रुपैयाँमा समेत उडान गर्ने भारतीय एयरलाइन्सले गत नोभेम्बरमा ४५ हजार रुपैयाँको हारहारीमा भाडा पुर्याएका थिए ।
दिल्लीबाट काठमाडौं उडान भर्ने एयरलाइन्सहरुले सिजन चल्ने वित्तिकै कार्टेलिङ गरी भाडा बढाउने र घटाउने गरेका छन् । गण्डकी ट्राभल्सका लावाजू भन्छन्, ‘अहिले घटाएर के गर्नु फेरि सिजन लाग्ने वित्तिकै एकैचोटी भाडा ह्वात्तै बढाउँछन् ।’
तर यो पटक भने यात्रु नै कमभएपछि कार्टेलिङ गरेर भाडा महँगै राख्न नसक्दा उनीहरु घटाउन बाध्य भएका हुन् । त्यसको साथै सिजनमा टिकेटिङ गर्नेहरुले पनि सिट होल्ड गरेर भाडा बढाउने गरेको आरोप लाग्दै आएको छ ।
‘दसैँ तिहार र चाडवाडको अवसरमा दिल्लीबाट नेपाल आउन मात्रै ५१ हजार रुपैयाँ तिर्नुपर्थ्यो । अहिले १५ हजार हाराहारीमा सजिलै आउनजान सकिन्छ,’ लावाजूले भने ।
अहिले सस्तोमा बजेट एयरलाइन्स इन्डिगो र स्पाइस जेटले प्रतियात्रु एकतर्फी दिल्ली–काठमाडौं सातहजार रुपैयाँमा उडाइरहेका छन् भने जेट एयरवेजले दश हजार रुपैयाँमा उडाइरहेको छ ।
एयर इन्डियाले भने एकतर्फी भाडा एघार हजार एक सय ८६ रुपैयाँ तोकेको छ । वायुसेवाले एकतर्फी भाडा किन्दा भन्दा दुईतर्फी किन्दा सस्तोमा दिने गरेका छन् ।
यसैगरी मध्यपूर्वी एसियाका देशहरुमा समेत हवाई भाडा केही घटिरहेकोले पनि दिल्ली रुटको भाडा घटेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का पूर्व अध्यक्ष तथा गन्डकी ट्राभल्सका संचालक रामकाजी कोनेले बताए ।
हवाई भाडा घटेसँगै दिल्ली–काठमाडौं र काठमाडौं–धनगढीको हवाई भाडा एकै दरमा आएको छ । हाल काठमाडौं–धनगढी जानको लागि आन्तरकि वायुसेवाले दुईतर्फी १३ हजार रुपैयाँ लिँदै आएका छन् ।