
काठमाडौं। प्रभु स्टील्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ। नियमअनुसार पाइने प्रिमियम मूल्यमा ९८ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो।
सेयर निष्कासनको तयारीका लागि कम्पनीले बिक्री प्रबन्धक भएर काम गर्न इच्छुक कम्पनी नियुक्तिका लागि बोलपत्र आह्वान गरेको छ। योग्यता पुगेका मर्चेन्ट बैंकहरुले ४५ दिनभित्र बोलपत्र पेस गरिसक्नु पर्ने छ।
कम्पनीको सर्तअनुसार मर्चेन्ट बैंकहरुले बोलपत्र पेस गर्न सक्ने छन्। बोलकबोलमा सामेल भएका कम्पनीहरुमध्ये न्यूनतम मूल्य कबुल गर्ने क्यापिटललाई कम्पनीले बिक्री प्रबन्धक नियुक्त गर्ने उल्लेख गरेको छ।
उक्त कम्पनी आर्थिक वर्ष २०७८/७९ को कर चुक्ता भएको, कम्पनीलाई नियमअनुसार प्रिमियम थप गरिर सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतिकर्ता जुटाउने प्रतिबद्धता र आवश्यक सेवा शुल्क निर्धारण गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ।
यस्तै आइपीओ निष्कासनपछिको एक आर्थिक वर्षका लागि आरटीएस सेवा दिन प्रतिबद्ध रही त्यसको दस्तुर कबुल गर्नुपर्ने पनि सर्त छ।
कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने भएकाले सेयर आह्वानका लागि विज्ञ टोली गठन गर्नुपर्ने र बिक्री प्रबन्धकले आइपीओ जारीका लागि अन्य अतिरिक्त कुनै पनि शुल्क माग गर्न नपाइने लगायतका विभिन्न सर्तहरु तोकेको छ।