अन्तर्राष्ट्रिय बजारमा सुकुमेलको भाउ बढ्यो, दुई महिना अघि ल्याएका नेपाली आयातकर्ता मालामाल

अनन्तराज न्यौपाने
२०७९ चैत्र १९ गते ०८:४५ | Apr 2, 2023
अन्तर्राष्ट्रिय बजारमा सुकुमेलको भाउ बढ्यो, दुई महिना अघि ल्याएका नेपाली आयातकर्ता मालामाल

विराटनगर। सुकुमेलको खेती हुने र निर्यात गर्ने देश ग्वाटेमालामै अचानक मूल्यमा वृद्धि भएपछि नेपालका आयातकर्ता मालामाल भएका छन्।

Tata
GBIME
Nepal Life

ग्वाटेमालामा सुकुमेलको मूल्यवृद्धिसँगै नेपाल र भारतमा पनि किलोको ४ सयले वृद्धि भएको छ। नेपालमा आयातित सुकुमेल अनधिकृत मार्ग हुँदै भारत जान्छ। किलोमा ४ सय मूल्यवृद्धि भएपछि आयातकर्ता फाइदामा पुगेका हुन्।

नेपालका अधिकांश आयातकर्ताले मध्यम स्तरको सुकुमेल किलोको साढे ५ देखि ८ डलरमा आयात गरेका थिए। व्यवसायीका अनुसार डिसेम्बरदेखि जनवरीसम्म ग्वाटेमालामा मध्यम स्तरको सुकुमेलको निर्यातमूल्य किलोको ८ डलर थियो।

फेब्रुअरी मध्यमा आइपुग्दा मूल्य घटेर साढे ५ डलर भयो। मार्च १५ यता ९ देखि १० डलरको भाउ चलिरहेको छ।

एक महिना अघिसम्म मध्यम स्तरको सुकुमेल नेपालका आयातकर्ताले किलोको नेरु १२ सयमा बिक्री गरिरहेका थिए। भारत पुर्‍याएपछि यसको थोक मूल्य नेरु १६ हुन्थ्यो। दुई सातायता नेपालका आयातकर्ताले मध्यम स्तरको सुकुमेलको मूल्य किलोको नेरु १५ देखि १६ सय निर्धारण गरेका छन्।

भारतका थोक बजारमा अहिले यो स्तरको सुकुमेलको मूल्य नेरु २ हजार पुगेको छ। त्यस्तै उच्च स्तरको सुकुमेलको निर्यातमूल्य ग्वाटेमालामा डिसेम्बर–जनवरीमा किलोको १२ डलर थियो।

फेब्रुअरीको मध्यमा आइपुग्दा यसको मूल्यमा ह्रास भएर किलोको ८ डलर भयो। मार्च १५ यता भने १५ डलरमा कारोबार भइरहेको छ।

एक महिनाअघिसम्म नेपालका आयातकर्ताले किलोको नेरु २२ सयमा बिक्री गरिरहेको उच्च गुणस्तरको सुकुमेलको मूल्य बढाएर अहिले २५ देखि २६ सयसम्म पुर्‍याएका छन्। त्यस्तै भारतीय थोक बजारमा यसको मूल्य एक महिनाअघि किलोको नेरु २६ सयबाट ३ हजार पुगेको छ।

विराटनगरका आयातकर्ता हेमकरण दुगडले अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुकुमेलको मूल्यवृद्धि भएको पुष्टि गरे।‘ल्याउनेबित्तिकै बिक्री गर्नेहरू खासै नाफामा गएनन् किनकि भन्सारले छुटिसकेको मालमा पनि थप राजस्व र जरिवाना तिरायो,’ उनले भने, ‘तर जसले यो दुई महिना माल स्टक गरेको छ ऊ भने फाइदामा छ।’

भन्सार विभागले आन्तरिक प्रयोजनका लागि तयार गरेको डेटाबेस (सन्दर्भ मूल्यसूची)मा सुकुमेलको आयातमूल्य किलोको साढे १२ डलर कायम गरेको छ।

तर विराटनगर र वीरगंजका व्यवसायीले भन्सार ऐनको दफा १३ मा उल्लिखित कारोबार मूल्यलाई मान्यता दिने कानुनी व्यवस्थामा सम्बन्धित भन्सारप्रमुखलाई सहमति गराएर किलोको साढे ५ देखि साढे ८ डलरसम्मको मूल्यमा सुकुमेलको आयात गरेका थिए। जसअनुसार वीरगंज र विराटनगर भन्सारले कारोबार मूल्यलाई मान्यता दिँदै सुकुमेलको जाँचपास गरेको थियो।

पछि भन्सार विभागले वीरगंज र विराटनगर कार्यालयले बिलबिजकलाई मान्यता दिएको कार्यप्रति आपत्ति जनायो। विभागले दुवै भन्सारलाई परिपत्र गर्दै सम्बन्धित आयातकर्तालाई बोलाएर डेटाबेसअनुसार किलोको साढे १२ डलरको मूल्यांकनबाट कायम हुने राजस्व र त्यसमा थप ५० प्रतिशत जरिवाना पनि तिराउन निर्देशन दियो।

यही निर्देशनका कारण थप राजस्व र जरिवानाको रकम तिरेका आयातकर्ताहरू सुकुमेलमा घाटा भइरहेको गुनासो गरिरहेका थिए। तर, अन्तर्राष्ट्रिय बजार सँगसँगै नेपाल र भारतमा पनि किलोको ४ सयले मूल्यवृद्धि भएपछि उनीहरू खुसी छन्।
ग्वाटेमालाका किसानले लक्ष्यको ७० प्रतिशत मात्र सुकुमेलको उत्पादन गरेका छन्।

त्यस्तै भारतमा सुकुमेलको खेती केरला राज्यमा मात्र हुन्छ। केरलामा पनि यस वर्ष लामो खडेरी पर्दा सुकुमेलका बोट सुकेर पहेँला भइसकेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन्। त्यहाँ यो वर्ष सुकुमेलको उत्पादन ६० प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ। त्यसैले अन्तर्राष्ट्रिय रूपमै सुकुमेलको क्रमशः मूल्यवृद्धि भइरहेको छ।

यसका कारण नेपाल र भारतमा यसको मूल्यमा २ महिनापछि किलोको १५ सयदेखि २ हजारसम्म अझै बढ्ने दाबी व्यवसायीले गरेका छन्। त्यसैले नेपालका आयातकर्ताहरूले यसको आयातलाई तीव्र बनाएका छन्। भन्सार विभागका अनुसार नेपालमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४१ करोड २ लाख मूल्यको ३ सय टन सुकुमेल आयात भइसकेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६६ लाख मूल्यको २९९ टन सुकुमेल आयात गरिएको थियो।

यसरी गत आवको १२ महिनामा आयात गरिएको सुकुमेलको परिमाणभन्दा चालु आवको ८ महिनामा आयातितको परिमाण बढी देखिएको छ। त्यस्तै आव २०७७/७८ मा ३९ करोड १ लाख मूल्यको २७८ टन सुकुमेल नेपालमा आयात गरिएको तथ्यांक विभागको छ।

विराटनगरमा सुकुमेलको आयात गर्ने मुख्य व्यवसायीमा हेमकरण दुगड, एनके राठी, खेमचन्द जैन, बजरंग बाहेती, विमल जाजोडिया, प्रियंक लालबानी, रतन अग्रवाल लगायत छन्।