
काठमाडौं। भारतीय सवारी उत्पादक महिन्द्राको सफल मोडलमध्येको हो ‘थार,’ जसलाई साढे दुई वर्षको अवधि कम्पनीले एक लाख युनिट सेकेन्ड जेनेरेसनको उत्पादन गरेको छ।
‘अफरोड’को यात्रा रुचाउनेको रोजाइमा परेको यो गाडीको बिक्रीबाट कम्पनी उत्साहित छ। कम्पनीले पहिलो संस्करणको उत्पादन थालेको एक दशकपछि सेकेन्ड जेनेरेसन थार एसयुभीलाई सन् २०२० को अक्टोबरमा बजारमा उतारेको थियो।
अहिले सेकेन्ड जेनेरेसन थार बजारमा छ। कम्पनीले एक लाखौं ब्याचको थार भारतको महाराष्ट्रस्थित नासिक प्लान्टबाट रोल आउट गरेको जनाएको छ।
थारको यो संस्करणले सवारी सुरक्षा मामिलाका लागि ग्लोबल एनक्याप सेफ्टीमा ४ स्टार रेटिङ प्राप्त गरेको थियो। यसको एक वर्षमा नै ७५ हजार युनिट बुकिङ भएको थियो।
कम्पनीले यसलाई ३ वटा इन्जिन विकल्पमा ल्याएको थियो। जसमा १.५ लिटर डिजल इन्जिनले १५२ हर्सपावर र ३०० एनएम टर्क उत्पादन गर्छ। साथै यसमा ६ स्पिड म्यानुअल गियर बक्स छ।
अर्को २.० लिटर पेट्रोल र २.२ लिटर डिजल इन्जिन छ। यसले १३० हर्सपावर र ३०० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा पनि ६ स्पिड म्यानुअल र अटोमेटिक गियर बक्स छ। डिजल इन्जिनमा फोर ह्वील ड्राइभ उपलब्ध छ।