
काठमाडौं। अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ उपचुनावमा उम्मेद्वारी दिने भएका छन्।
स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका वाग्लेले एक/दुई दिनभित्रै कार्यक्रम गरेर नेपाली कांग्रेस छाडेको घोषणा गर्नेछन्।
स्रोतका अनुसार विभिन्न चरणको छलफलसँगै वाग्लेलाई तनहुँमा उम्मेद्वार बनाउने निर्णय भएको हो। वाग्लेले कांग्रेसमा कुनै ठाउँ नपाएपछि रास्वपा गएर चुनाव लड्न लागेका हुन्।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला योजना आयोगको उपाध्यक्ष बनेका वाग्ले गत चुनावमा उम्मेद्वार बन्न चाहेका थिए। तर, कांग्रेस सभापति देउवाले उनलाई चितवन-१ मा रोक्दै डा. विश्व पौडेललाई उम्मेद्वार बनाएका थिए।
कांग्रेस महामन्त्री गगन थापाले आफ्नै क्षेत्रमा उम्मेद्वार बनाउन जोडबल गरेपनि सभापति देउवाले सुनुवाई गरेनन्। थापाले आफ्नो क्षेत्र छाडेर सर्लाहीबाट चुनाव लड्ने योजना बनाउँदा उल्टै सभापित देउवाले अर्को उम्मेद्वार लडाउने तयारी थाले। एकपछि अर्को गर्दै वाग्लेलाई सभापति देउवाले ब्लक गर्दै गए। यद्यपि उनलाई गगनकै जोडबलबाट चुनाव घोषणापत्र तयारी समितिमा राखिएको थियो। उनको इनिसिएसनमा गत चुनावमा राम्रो घोषणापत्र पनि तयार भएको थियो।
घोषणापत्र तयार भएपछि वाग्ले, डा. गोविन्द पोखरेल र मिनेन्द्र रिजाल चुनावी घोषणा कार्यक्रममा सहभागी भएका थिए। उनीहरुले विभिन्न जिल्ला दौडाहा गरेर चुनावी माहोल तयार गरेका थिए। तर, चुनावपछि रास्वपाको सीट धेरै आएपछि भने वाग्लेलाई सभापति देउवा पक्षधरका उम्मेद्वार हराउन लागेको आरोप समेत लगाइयो।
महामन्त्री गगन, वाग्ले, रिजाल र पोखरेलले सम्बोधन गरेका ठाउँमा कांग्रेसका उम्मेद्वार हारेको र रास्वपाको उम्मेद्वार जितेको भन्दै अनौपचारिक रुपमा अनुसन्धान गर्ने काम समेत भएको थियो। स्रोतका अनुसार देउवा पत्नी आरजु राणाको निर्देशनमा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ती जिल्लामा अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनिएको थियो।
त्यसपछि भने वाग्ले कांग्रेसमा सुधार हुन नसक्ने भन्दै टाढिन खोजेका थिए। तर, महामन्त्री गगन थापाले वाग्लेलाई रोकिरहेका थिए।
वाग्लेले भ्रष्टाचार र कुशासनले मुलुकलाई गाँजेको र यो सुधारका लागि ठुलै परिवर्तन आवश्यक रहेको धारणा राख्दै आएका थिए। उनले सार्वजनिक मञ्च र भित्र रहँदा पनि देउवा र देउवा पत्नी राणाविरुद्धमा खुलेरै आलोचना गर्न थालेका थिए। कांग्रेसको राजनीतिबाट असन्तुष्ट भएपछि भ्रष्टाचारविरुद्धको अहिलेसम्मकै ठूलो धनराशी २५ लाख रुपैयाँको पत्रकारिता पुरस्कार समेत घोषणा गरेका थिए।