
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका छन्। मन्त्री भागबन्डामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा ठुलो दलबाट दुई/दुई जना र साना दलबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।
मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनले मंगलबारबाट छलफल थालेको हो। मंगलबार भागबन्डाको विषयमा सहमति जुट्न नसकेपछि बुधबार बिहानैबाट दलहरु छलफलमा जुटेका छन्। बिहानको बैठकमा कुनै सहमति जुट्न नसकेपछि दलहरु दिउँसो ३ बजे पुन: बैठकमा जुट्दैछन्।
२५ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ भने समाजवादीले ३ मन्त्रालयमा दाबी गरेको छ। यसैकारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बताइएको छ। सकेसम्म पूर्ण मन्त्रिपरिषद् बनाउने तयारी गर्ने र नभए भोलिसम्ममा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनायो।
‘आज मोटामोटी सहमति भए भोलि बिहान पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार होला,’ बालुवाटार स्रोतले भन्यो। सुरुमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रिपरिषद्मा पठाउने तयारी रहेको छ। कांग्रेसको नेतृत्व गरी खड्का सरकारमा जान लागेपनि उनको मन्त्रालय टुंगो लागेको छैन। महतलाई भने अर्थमन्त्रीको जिम्मवारी दिने पक्कापक्की भएको बताइएको छ।
पहिलो चरणमा अर्थसहित कांग्रेसबाट दुईजना र अरु दलबाट एक-एक जना मन्त्री नियुक्त हुने तयारी रहेको छ। माओवादीले मन्त्रालय हेरफेर गर्ने तयारीसमेत गरेको छ। उपप्रधान तथा भौतिकमन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृह जाने तयारीमा छन्। उनले छाडेको भौतिक पूर्वाधार मन्त्रालयमा एकीकृत समाजवादीले दाबी गरिरहेको छ। एकीकृत समाजवादीले प्रकाश ज्वालालाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको छ।
प्रचण्ड नेतृत्वको सरकारमा अहिले माओवादीबाट प्रधानमन्त्रीसमेत ६ जना छन् र जनमत पार्टीका अब्दुल खान छन्। गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय दाबी गरेको छ। अरु साना दलले भने एक-एक मन्त्री पाउने बताइएको छ।