
काठमाडौं। शान्तिनगरमा आकाशेपुल निर्माणका लागि प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
बाग्मती प्रदेशसभा सदस्य लामिछानेले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मदन भण्डारी सडक खण्डको शान्तिनगर अत्यन्त जोखिमपूर्ण स्थान रहेको भन्दै आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखकको ध्यानाकर्षण गराएका हुन्।
लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको बताए। सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री जोखिममा रहेको लामिछानेले कार्यालय प्रमुखलाई बताए।

स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघ संस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएको लामिछाने बताउँछन्।
उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने भन्दै लामिछानेले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा थप मानवीय क्षति रोक्न, पैदलयात्रीहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको बताए।