
काठमाडौं। एप्पल र डेलको प्रडक्ट बेच्ने जेनेरेसन नेक्स्ट कम्युनिकेसनले एकैवर्ष ३ अर्ब ५७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ।
नेपालका लागि एप्पल र डेलको आधिकारिक वितरक रहेको जेनेरेसन नेक्स्टले अघिल्लो वर्ष २०२०/२१ मा १ अर्ब ९५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा कम्पनीले ९४ करोड ६० लाखको व्यापार गरेको थियो।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाउँदा कम्पनीलाई धक्का पुगेको थियो। आयात खुकुलो भएसँगै २०२१/२२ मा कम्पनीको कारोबार ८३ प्रतिशतले बढेको छ।
कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट आइआरएन एफोर प्लस रेटिङ पाएको छ।
कम्पनीको प्रबन्ध निर्देशक पवनकुमार भिमसरिया हुन्। जेनेरेसन नेक्स्टले देशभर एक सयभन्दा बढी डिलरमार्फत डेल र २५ भन्दा बढी आधिकारिक रिसेलरमार्फत एप्पलका उत्पादन बिक्री गर्छ।