
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा सुकुन्तलाल हिराचनको इन्ट्री भएको छ। उनी महासंघका कोषाध्यक्ष हुन्। लामो समयदेखि महासंघ राजनीतिमा रहेका हिराचन यो पटक वस्तुगत उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
‘मैले कोषाध्यक्ष भएर काम गरेँ। केही काम गर्न बाँकी भएकाले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हो,’ उनले बिजमाण्डूसँग भने, ‘तपाईंको यही माध्यमबाट उम्मेदवारी दिने घोषणा गर्दछु।’ उनले वस्तुगत सदस्यका लागि छुट्टै भवन बनाउने काम बाँकी रहेकाले उम्मेदवारी दिएको बताउँछन्।
‘महासंघको कोषको रिफर्मको काम भयो। अब भनेको वस्तुगत सदस्यका लागि छुट्टै भवन बनाउने मेरो योजना थियो। त्यही योजनाअनुसार नक्सा समेत बनिसकेको छ,’ हिराचनले भने, ‘अब उपाध्यक्ष भएर भवन निर्माणको काम सक्ने योजनाका साथ उम्मेदवारी दिन लागेको हो। यसले वस्तुगत संघलाई पनि बलियो बनाउन सहयोग पुग्छ।’
युनाइटेड बिल्डर्सका अध्यक्ष रहेका हिराचनले त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर निर्माण गरेर संचालन गरिरहेका छन्। हिराचनलाई महासंघ अध्यक्ष शेखर गोल्छाले कोषाध्यक्षमा ल्याएका हुन्। कोषाध्यक्षका रूपमा रहँदा उनले महासंघको कोषलाई बलियो बनाउने काम गरे।
अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईजस्तो राम्रो टीम भएकाले समेत कोषको दुरुपयोग हुन पाएन। हिराचन आफैंले पनि लोभ गरेनन्।
त्यही भएर अध्यक्षका रुपमा गोल्छाले महासंघको कोष झण्डै १७ करोड बचतमा राखेर बाहिरिँदैछन्। गोल्छाले आफ्नै कार्यकालमा महासंघ कर्मचारीको तलब ३० प्रतिशतसम्म बढाए। गोल्छाले सम्हाल्दा १० करोड रुपैयाँ कोषमा थियो। कोभिड महामारीका कारण धेरै कार्यक्रमहरु हुन सकेन्। तर, नयाँ सदस्य थपिँदा केही राहत भयो।
हिराचन रामचन्द्र संघईको टीमबाट चुनावमा आउनेछन्। यसअघिका वस्तुगत उपाध्यक्ष घोषणा गरेका शिवशक्ति ग्रुपका कार्यकारी निर्देशक सन्दीप अग्रवाल भने संघईकै टीमबाट एशोसिएट उपाध्यक्ष लड्दैछन्। यसअघि कन्फर्म गरेका भरत आचार्य नखुलेपछि संघईले नयाँ टीम बनाएका हुन्।
आचार्य आजको दिनसम्म पनि द्विविधामा छन्। उनी अझै पनि सर्वसम्मतको पक्षमा रहेको भन्दै मौन बसिरहेका छन्। तर, उनी अन्तिममा उमेशलाल श्रेष्ठ समूहबाट उठ्ने सम्भावना छ। समय धेरै घर्किसकेकोले आचार्यका लागि निर्वाचन कठिन बन्दै गएको छ। तर, सन्दीप आउँदा अन्जन श्रेष्ठबाट उम्मेदवार बनेकी ज्योत्सना श्रेष्ठको भोट काट्दा आफूलाई सजिलो हुने बुझाइमा आचार्य छन्।
प्यानल घोषणा गर्न अलमल
महासंघको चुनाव आउन अब १८ दिन मात्रै बाँकी छ। चुनावका लागि तीन वटा प्यानल बनिरहेको छ। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ चुनावको प्रतिस्पर्धामा छन्। तर, यी तीनै जनाले प्यानल भने घोषणा गरेका छैनन्।
औपचारिक रुपमा प्यानल घोषणा नगरी चुनावी प्रचारमा छन्। तीनै पक्षले पहिला अरुले घोषणा गरेपछि मात्रै गर्ने भन्दै बसेका छन्। त्यही भएर यस्तो अलमल भएको हो। त्यही अलमलले गर्दा प्यानलमा पनि अदलबदल भइरहेको छ। प्यानल घोषणा नभएकाले समेत चुनावमा को बलियो र कमजोर भनेर आकलन गर्न सक्ने अवस्था छैन।
कुनै पक्षले उम्मेद्वार नपाएका कारणले प्यानल बनाउन नसकेर पनि घोषणा हुन सकेको छैन। तीनै पक्षले प्रदेशको निर्वाचनमा सहभागी हुन परेकाले प्यानल घोषणा गर्न नसकेको बताउँदै आएका छन्। सबै प्रदेशको चुनाव शनिबार सकिँदैछ।
कोशी प्रदेशमा राजेन्द्र राउत, मधेश प्रदेशमा अशोक टेमानी, वाग्मती प्रदेशमा दिलसुन्दर श्रेष्ठ, लुम्बिनीमा कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशमा अमृत भट्टचन, कर्णाली प्रदेशमा पदमबहादुर शाही र सुदूरपश्चिममा शंकर बोगटी निर्वाचित भएका छन्। स्रोतका अनुसार काठमाडौंमा आइतबारदेखि चुनावको रौनक थपिनेछ भने चैत १५ गतेसम्म तीनै पक्षले आफ्नो प्यानल घोषणा गर्नेछन्।