
काठमाडौं। कैलाश हेलिकोप्टर बिहीबारबाट छैटौं वर्षमा प्रवेश गरेको छ। हाल तीनवटा हेलिकोप्टरमार्फत व्यवसायिक उडान सेवा दिँदै आएको कम्पनीले आउँदो दुई वर्षमा थप एउटा हेलिकोप्टर विस्तार गर्ने योजना रहेको संचालक प्रतापजंग पाण्डेले बताए।
‘आजबाट हामी छैटौं वर्षमा प्रवेश गरेका छौं। हामीले स्थापनाकालदेखि पाँच वर्षमा पाँचवटा हेलिकोप्टर संख्या विस्तारको व्यवसायिक योजना बनाएका थियौं। तर, कोभिड-१९ का कारण यो योजना धकेलिएको छ,’ पाण्डेले भने,’आउँदो दुई वर्षमा एउटा मेसिन विस्तार गर्नेछौं।’
सन् २०१७ मे ५ तारिखमा पर्यटन मन्त्रालयबाट उडान इजाजतपत्र पाएको यो कम्पनीले सन् २०१८ मार्च २३ तारिखबाट आफ्नो सेवा सुरु गरेको थियो। हाल यो कम्पनीले तीनवटा एयरबसको एएस ३५० बी ३ सिरिजको हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको छ। एउटा हेलिकोप्टर विस्तारसँगै कम्पनीसँग चारवटा हेलिकोप्टर हुनेछ।
कम्पनीले यात्रु चार्टर, कार्गो, सिलिङ, फिल्म लगायत विभीन्न क्षेत्रमा आफ्नो सेवा दिँदै आएको छ।