
वीरगंज। मुआब्जा माग्दै भन्दै वीरगंज-२५ सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय अगाडि स्थानीयबासीले पुनः धर्ना र चक्काजामसहित प्रदर्शन गरेका छन्। ७ वर्षको अवधिमा पनि मुआब्जाको काम पुरा नभएको भन्दै दबाबका लागि स्थानीय पुनः आन्दोलित भएका हुन्।
सोमबार दिउँसो १ घण्टा बन्दरगाह भन्सारको मूल गेटमा वडाबासीले चक्काजाम गरी धर्ना दिएका हुन्।
सरकारले २०७३ सालदेखि बन्दरगाह भन्सार कार्यालय र वीरगंज-१७ अलौंस्थित वीरगंज भन्सार मातहतको आइसीपी भन्सारबीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएको थियो। भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा पत्र पठाएर जग्गा रोक्का गराएको थियो। जग्गा रोक्का गरेको ५ वर्षपछि २०७८ देखि मुआब्जा वितरण सुरु गरिएको थियो।
हालसम्म ३ अर्ब रुपैयाँ सरकारले विवरण गरिसकेको छ। जग्गाधनीलाई अझै २ अर्ब ८० करोड मुआब्जा दिन बाँकी छ। मुआब्जा नपाएको र जग्गा रोक्का राखिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।
बन्दरगाह भन्सार प्रमुख जयबहादुर भण्डारीले प्रदर्शनकारीसँग वार्ता गरेर सहमति गरी गेट खुलाए। नयाँ अर्थमन्त्री आएपछि मुआब्जा माग गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन उनले दिएका छन्।