
काठमाडौं। कोभिडयता तीन वर्षपछि चीनले नेपालसँगै ४० वटाभन्दा बढी मुलुकमा आफ्ना नागरिकलाई लगाएको भ्रमण प्रतिबन्ध खुला गरेको छ। पछिल्लो दशक चिनियाँ पर्यटक संसार घुम्छन्। खर्च गर्छन्। जसको राम्रो फाइदा कोरोनाकाल अघि नेपाली पर्यटन क्षेत्रले पनि राम्रैगरी पाइरहेको थियो।
नेपाल आउने विदेशी पर्यटकमा दोस्रो ठूलो संख्या चिनियाँको भएको थियो। तर, कोरोना संक्रमणको महामारीसँगै चीनले आफ्ना नागरिकलाई भ्रमणमा बन्देज गरेको थियो। त्यसले नेपाली पर्यटन क्षेत्रलाई राम्रै धक्का लागेको छ। चिनियाँ पर्यटकको पुनरागमनले अब पर्यटन क्षेत्र मात्र नभइ समग्र अर्थतन्त्रमै टेवा पुग्ने विज्ञहरु बताउँछन्।
हुन त विश्वका विभिन्न मुलुकमध्ये आउटबाउण्ड टुरिजमका लागि चीन नै अग्रस्थानमा छ। चीनले हालसम्म ६० वटा मुलुकमा लगाएको भ्रमण प्रतिबन्ध खुला गरेको छ। मुलुकमा भित्रँदै आएका कुल पर्यटकमा १५ प्रतिशत पर्यटक चिनियाँ रहेका छन्। चिनियाँ पर्यटक समूहमा हिँड्ने भएका कारण नेपाली पर्यटन व्यापारमा आर्थिक गतिविधि थप चलायमान हुने देखिएको छ।
कम मुलुकमा भ्रमण प्रतिबन्ध फुकुवा गर्दा नेपाललाई भने यो अवसर बनेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी दीपकराज जोशी बताउँछन्।
‘चीन हाम्रो पर्यटनका लागि दोस्रो ठूलो स्रोत बजार हो। यो सेगमेन्ट फास्टेस्ट ग्रोइङ हो। यसका लागि चिनियाँ स्रोत बजारमा नेपाल पर्यटनका लागि तयार छ भन्ने सन्देश दिन आवश्यक छ। यसका लागि त्यहाँको टुर ओपरेटर आमसञ्चार माध्यमको प्रयोग आवश्यक छ,’ जोशीले भने।
कोभिडयता प्राकृतिक गन्तव्यको माग भएसँगै नेपाल पर्यटनको माग थप वृद्धि हुने उनले बताए। यही कुरालाई मध्यनजर गर्दै चिनियाँ पर्यटकको अभिरुची रहेको गन्तव्यमा भाषा, परिकार लगायतमा जोड दिन आवश्यक रहेको उनले जानकारी दिए।
चिनियाँ पर्यटकको आवागमन दर वृद्धिका लागि चीन-नेपाल एजेन्सी, कूटनीतिक नियोग लगायतसँगको सहकार्य सँगै जीटुजी पनि कुरा राख्न आवश्यक रहेको उनको भनाइ छ।
दुई मुलुकबीच पर्यटन र व्यापार एक अर्काको परिपूरक रहेको बताउँदै उनले भने, ‘चीनबाट जहिले पनि पर्यटन र व्यापारको सम्बन्ध छ। व्यापार खुलेपछि पर्यटन खुल्छ, पर्यटन बढेपछि व्यापारको अवसर विस्तार हुन्छ,’ उनले भने।

यसअन्तर्गत तातोपानी र रसुवा नाका महत्त्वपूर्ण हुने उनको तर्क छ। सामान्य अवस्थामा केही व्यापारी र कूटनीतिक नियोगका पदाधिकारी यी नाकाबाट आउजाउ गर्छन्। अब चिनियाँ पर्यटकको सेवालक्षित गाइड, कुकको तालिम थप विस्तारसँगै पर्यटन बोर्ड, मन्त्रालयसँगै टुर ओपरेटर एजेन्टसँगको सहकार्य अगाडि बढाउनुपर्ने उनले बताए।
अधिकांश चिनियाँ पर्यटकका लाग पोखरा, सौराहा, लुम्बिनी लगायत प्रमुख गन्तव्य छ। यतिखेर भने चिनियाँ पर्यटकमा वाइल्डलाइफ टुरिजममा बढी रुचि रहेको देखिएको उनले बताए। पश्चिमा मुलुकको तुलनामा आउटबाउण्डका लागि चिनियाँ पर्यटक धेरै छन्। तर नेपालको सन्दर्भमा पश्चिमा मुलुकबाट आउने पर्यटकको बसाईँ र खर्च गर्ने चलन धेरै छ।
यसका लागि चीनका विभिन्न क्षेत्रमा रहेका पर्यटकको सम्भाव्यता अध्ययन गर्दै प्याकेज तयार गर्न आवश्यक रहेको उनले जानकारी दिए।
चिनियाँ पर्यटकको आगमन बढाउन वन्यजन्तु पर्यटन, वेलनेस स्पासहितको सेवा, व्यापार, चिनियाँ लगानीलगायत विस्तार गर्न आवश्यक रहेको जोशीले बताए।
भारतीय सिमानाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकलाई भाषा र पूर्वाधार सजिलो छ। त्यो तुलनामा चीनबाट केरुङ, रसुवा हुँदै पर्यटक आउँदैनन्। त्यहाँ पूर्वाधारसँगै प्रवेशाज्ञा प्रक्रिया पनि सहज छैन। सरल बनाउनुपर्नेमा जोसी जोड दिन्छन्। ‘नेपाल आउनका लागि हवाई भाडादर महँगो हुनु पनि प्रमुख समस्या छ। ‘राज्यकै तर्फबाट दिगो रूपमा पूर्वाधार विस्तारसँगै तत्कालका लागि वायुसेवालाई इन्सेन्टिभ दिएर भए पनि भाडादर घटाउन आवश्यक रहेको छ,’ उनले भने।
चीन सरकारले भ्रमण प्रतिबन्ध फुकुवा गरेसँगै मुलुकको पर्यटन क्षेत्रमा निकै आशा जागेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। युरोप, अमेरिका लगायत मुलुकमा सहजै भ्रमण गर्न सक्ने अवस्था नरहेका कारण चिनियाँ पर्यटकका लागि नेपाल नै उपयुक्त गन्तव्य रहेको उनको भनाइ छ।
यी पर्यटकलाई आकर्षित गर्नका लागि हवाई यातायात पहुँच पर्याप्त मात्रामा आवश्यक रहेको बताउँदै उपाध्यक्ष शाहले भने,’यो गन्तव्यका लागि एयर कनेक्टिभिटी आवश्यक छ। ग्वान्जाउ र छेन्दुमा उडान भइरहेको छ। फ्लाइट संख्या वृद्धि भइदिएदेखि हवाई भाडा सस्तिने थियो,’ उनले भने,’नेपाल नजिक भएकै कारण सम्भावना बलियो देखिएको छ। सुरुवाती चरणमा रसुवा र खासा नाकाको तुलनामा अधिकांश पर्यटक हवाईमार्गबाटै आउने देखिएको छ।’
संघले आफ्नो तर्फबाट चिनीयाँ पर्यटक लक्षित आवश्यक तयारी सुरु गरिसकेको उनले जानकारी दिए। भारतीय पर्यटकसँगै चिनियाँको आवगमनले मुलुकको पर्यटकीय गतिविधि थप वृद्धि हुने उनले बताए।
चिनियाँ पर्यटकको आगमन सुरु भएसँगै व्यापार वृद्धि हुने उनले बताए। जसमार्फत हस्तकला, रेष्टुरेण्ट, होटल लगायत सबै व्यवसाय विस्तार हुने उनी बताउँछन्। ‘यो तीन वर्षको अन्तरालमा हामीले धेरै कुरा सिक्यौँ। चिनियाँ पर्यटकलक्षित परिकार, भाषा लगायत तयार गरेका छौं,’ उनले भने।
चिनियाँ पर्यटकको पुनरागमनले मुलुकको अर्थतन्त्र चलायमानले थप गति लिने ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष नीलहरि बाँस्कोटाले बताए। ‘उनीहरुको आवागमनले क्यास फ्लो, रोजगार व्यापार थप चलायमान हुनेछ,’ उनले भने।
उनका अनुसार चिनियाँ पर्यटक ट्रेकिङमा भन्दा पनि टुरमा बढी केन्द्रित हुँदै आएका छन्। ‘समग्र पर्यटन क्षेत्रलाई हेर्लान्, ट्रेकिङ एउटा कम्पोनेन्ट हो। ट्रेकिङ मात्र भन्दा पनि अरु क्षेत्रबाट पनि सहज हुन्छ। हिजोको अवस्थालाई हेर्दा चिनियाँ पर्यटक खानपिन, किनमेलमा धेरै सक्रिय छन्। उनीहरु सोलोभन्दा पनि जमातमा भ्रमण गर्न मन पराउने भएका कारण आर्थिक चलायमान थप वृद्धि हुनेछ,’ उनले भने।
चार वर्ष यता पर्यटकको आवगमन यस्तो छ

सी चिनफीङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए लगत्तै कोभिडयता पर्यटकीय घुमघामका लागि बन्द सूचीबाट नेपालको नाम हटेको हो। यो सँगै आउँदो मार्च १५ तारिखदेखि चिनियाँ पर्यटकले नेपाल आउने बाटो खुलेको छ।