
काठमाडौं। निजी क्षेत्रले स्वदेशी पुँजीमा निर्माण गरेर सबैभन्दा ठूलो जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थालेको छ।
परीक्षण सकेर ८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थालेको हो। मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको उद्घाटन गरे।
आयोजना माघ अन्तिम साता नै प्रणालीमा जोडिइसकेको छ। आयोजनाले तीन महिना लगाएर परीक्षण गरेको हो। कात्तिक अन्तिम साताबाट परीक्षण सुरु गरेको थियो।
साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले यो जलविद्युत आयोजना सञ्चालनमा आएसँगै निजी क्षेत्रले स्वदेशी लगानीमा ठुला आयोजना निर्माण गर्न सक्ने प्रमाणित भएको बताए। उनका अनुसार यो नेपालकै तेस्रो ठूलो जलविद्युत आयोजना हो, भने निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो हो। जडित क्षमता ८६ मेगावाट भए पनि अहिले यो आयोजनाले २९/३० मेगावाट उत्पादन गरिरहेको छ। ‘सफलता किताबमा होइन मिहिनेतमा रहेछ,’ पाठकले भने।
यो कम्पनीमा ८ हजार ११५ सस्थापक सेयरधनी छन्। यो संस्थापक सेयरधनीको संख्या नेपालका जलविद्युत कम्पनीमध्ये सबैभन्दा धेरै हो।
यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। आयोजना सोलुखुम्बुमा निर्माण भएको छ। हेडवर्क्स सोलु दूधकुण्ड नगरपालिका र पावर हाउस (विद्युतगृह) थुलुङ दूधकोसी गाउँपालिकामा छ। आयोजनाले सोलुखोलाको पानी प्रयोग गरी विद्युत उत्पादन गर्नेछ।
आयोजनाको ग्रस हेड ६१३.२० मिटर र नेट हेड ५९८.०९ मिटर छ। ठाडो र तेस्रो गरी १८६४ मिटर पेनस्टक पाइप राखिएको छ।
सतही प्रकृतिको विद्युतगृह निर्माण गरिएको छ। १२ किमि १३२ केभी प्रसारणलाइन निर्माण गरेर विद्युत प्राधिकरणको लमाने सबस्टेसनमा जोडिएको छ।
यो आयोजनाले वर्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ।
२०१७ मा यो आयोजना निर्माणको ठेक्का इटालियन कम्पनी सीएमसी दी रिभेन्नाले पाएको थियो। सम्झौताअनुसार काम नगरेको भन्दै ठेक्का तोडियो। त्यसपछि पुन: कम्पनी नयाँ ठेक्का आह्वान गर्यो। उक्त ठेक्का सीई कन्स्ट्रक्सन पायो। उक्त कम्पनीले निर्माण सम्पन्न गरेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहवित्तीयकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाले यो आयोजनामा लगानी गरेका छन्। ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत इक्विटीबाट जुटाइएको छ। आयोजनाको साधारण लगानी फिर्ता ८.०२ वर्षमा हुनेछ। १३ करोड ८० लाख रुपैयाँ प्रतिमेगावाट लागत छ।