
काठमाडौं। कोभिड नियन्त्रणमा आएसँगै हङकङको ध्वजावाहक कम्पनी क्याथे एयरले मासिक १० लाख यात्रुलाई सेवा दिन थालेको छ। मासिक यात्रु सेवा संख्या तीन वर्ष यताकै उच्च रहेको कम्पनीले जनाएको छ।
कम्पनीले गत जनवरीको कारोबारको तथ्याकलाई मानक बनाउँदै आफ्नो व्यवसाय पुनः लयमा फर्किएको जनाएको हो। सन् २०२२ को तुलनामा यो समय कम्पनीका जहाजमा यात्रु संख्या उत्साहजनक रूपमा वृद्धि भएको छ।
‘हामीले गत २०२२ डिसेम्बरसम्म दैनिक ३३ हजार यात्रुलाई सेवा दिँदै आएका थियौं। १८ प्रतिशत क्षमतामा आफ्नो सेवा दिएका थियौं,’ कम्पनीकी प्रमुख व्यवसायिक अधिकृत लाविनीया लौले भनेकी छन्,’चीन र हङकङबीच क्वारेन्टिन हटेर उडान भएसँगै यात्रु माग थप वृद्धि हुने आशा लिएका छौं।’
कम्पनीले आउँदा दिनमा आफ्नो सेवा थप विस्तार गर्दै लैजाने जनाएको छ। यसका लागि कम्पनीले चीन तर्फको उडानलाई थप प्राथमिकता दिँदै अगाडि बढ्ने जनाएको छ।