
काठमाडौं। वाइन कम्पनी संकटा वाइन एण्ड बेवभरेजले आफ्नो उत्पादन बिक्रीका लागि ७५ वटा वितरक सञ्जाल बनाएको छ।
काभ्रेको नालामा कारखाना रहेको कम्पनीले २०१६ बाट ‘क्यानभास’ वाइन उत्पादन गरिरहेको छ। दैनिक १० हजार लिटरसम्म उत्पादन क्षमता रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) कमल कार्कीले बताए।
उनका अनुसार भारतबाट ताजा अंगुर आयात गरेर कम्पनीले वाइन बनाउने गरेको छ। ‘नेपालमा अंगुर खेती गरेर वाइन उत्पादन थोरैले गरेका छन्। हामी पनि आफैं अंगुर उत्पादन गरेर वाइन बनाउने बाटोमा छौं,’ उनले भने।
कम्पनीमा १५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। एक जना विदेशी प्राविधिकसमेत छन्।
सीइओ कार्कीका अनुसार अहिले नेपालमा अर्बौ रुपैयाँको विदेशी वाइन आइरहेको छ। ‘हाम्रो उत्पादन विदेशी वाइनलाई टक्कर दिने खालको छ। हामीले निर्यातको पनि योजना बनाएका छौं,’ उनले भने, ‘एक वर्षभित्र सुरु गर्छौं। त्यसको तयारीका कामहरु गरिरहेका छौं।’
कम्पनीले रेड र ह्वाइट गरी दुई थरी वाइन उत्पादन गरिरहेको छ। ७५० एमएलको बोतलको मूल्य ८९५ रुपैयाँ छ। यो वाइन विदेशीको गुणस्तर बराबर रहेको र निर्यातयोग्य भएको दाबी कार्कीले गरे। उनका अनुसार विगतमा बहुपक्षीय रुपमा सञ्चालन भएकोमा कम्पनी हाल व्यवस्थित रुपमा चलेको बताए।
क्यानभास वाइनले स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको दाबी गरिएको छ। कार्कीले वाइनको गुणस्तर र स्वादका कारण लोकप्रियता बढिरहेको बताए।