
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवा सुरु गरेको छ।
ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्ने एनसीएचएलले जनाएको छ।
त्यसैगरी डाइनामिक नेपाल पे क्यूआरलाई पनि बैंकले आफ्नो फिनपोसमा सुरु गरेको छ। उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपीएस प्रयोग गर्न सकिने बताइएको छ।
बैंकले सुरुवात गरेको पोस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएको एनसीएचएलले जनाएको छ।
नेपाल पे ट्याप, एनएफसी प्रविधिमा आधारित रहेको र त्यसले दुईवटा डिभाइसबीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्ने बताइएको छ। यो पीटुटी र पीटुएम भुक्तानीका लागि कन्ट्याकलेस भुक्तानीको माध्यम हो। ग्राहकलाई एनएफसीसम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता नपर्ने एनसीएचएलले जनाएको छ।
यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोगविना नै आफ्नो फोन फिपपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। हाल यो सेवा कनेक्ट आइपीएस मोबाइल एपमार्फत उपलब्ध छ। यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्ने कम्पनीले जनाएको छ। हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार ५ हजार रुपैयाँसम्म रहेको छ।
सिटीटेकले विभिन्न बैंकका लागि ‘अल इन वान मेसिन’ को रूपमा फिनपोस उपलब्ध गराउँदै आएको छ। मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरणमार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिने बताइएको छ।