
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल आर्थिक अनियमितताको गम्भीर मुद्दामा तानिएका छन्।
नियामक निकायको प्रमुख नै आर्थिक अनियमितताको गम्भीर मुद्दामा तानिएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा अर्थसचिव तोयम रायाले मौखिक स्पष्टीकरण सोधेका छन्। तर, ठोस अनुसन्धान गर्ने तिर मन्त्रालय देखिएको छैन।
बोर्डमा आइपीओ, प्रिमियम, ऋणपत्र र बुक बिल्डिङ प्रक्रियामा सर्वसाधरणलाई सेयर जारी गर्न लागेका प्रत्येक कम्पनीसँग हमालका निकट रहेका व्यक्ति र व्यवसायिक समूहले पैसाको बार्गेनिङ गरेको प्रमाण हुँदा समेत अर्थसचिव तोयम रायाले झारा टार्नका लागि मात्रै स्पष्टीकरण सोधेका छन्। त्यो पनि लिखित होइन मौखिक मात्रै।
बोर्डमा आइपीओ, प्रिमियम, ऋणपत्र र बुक विल्डिङ प्रक्रियामा सर्वसाधरणलाई सेयर जारी गर्न लागेका प्रत्येक कम्पनीसँग हमालका निकट रहेका व्यक्ति र व्यवसायिक समूहले पैसाको बार्गेनिङ गरेको यथेष्ट प्रमाण भेट्दा पनि मौखिक स्पष्टीकरण सोध्नुले केही आशंका पनि उब्जिएका छन्।
यो स्पष्टीकरणसँगै अर्थ मन्त्रालय र अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पनि औला ठडिएको छ। पौडेललाई बोर्ड अध्यक्ष हमाल निकट व्यक्ति र व्यवसायिक समूहबाट भइरहेको बार्गेनिङका बारेमा प्रमाण समेत पुगेका छन्। बोर्डमा आवेदन दिएका प्रत्येक कम्पनीसँग पैसा मागिएको छ।
त्यो पनि मोबाइलबाट म्यासेज टेक्स्ट गरेका प्रमाणहरु पनि बाहिरिएका छन्। यी सबै प्रमाणका बाबजुद अर्थमन्त्री पौडेलले हमालमाथि छानबिन गर्न समिति समेत बनाएनन्।
हमालको हवाला दिएर पैसा बार्गेनिङ उनको लेखापाल नबिल थामीले गरेका छन्। निकटका ब्यक्तिबाट भएको बार्गेनिङका बारेमा यदि हमाललाई थाहा रहेनछ भने त्यसको सत्यतथ्य पनि सरकारको छानबिनबाट बाहिर आउनु पर्छ।
समिति बनाउन नचाहनु भनेको अर्थमन्त्री पौडेलले हमालबाट भइरहेको काम कारबाहीको बचाउ गर्नु पनि हो। र, यसले आर्थिक अनियमितताको ढाकछोप गर्न खोजिएको आशंका समेत बल पुगेको छ।
होइन भने अर्थमन्त्री पौडेलले तत्कालै समिति बनाएर छानविन अगाडि बढाउनुपर्छ। त्यसबाट आएको सत्यतथ्यले नियामक निकायको विश्वसनीयता थप बढाउँछ। नियामक प्रमुखमाथि गम्भीर आरोप लागेपछि त्यसको असर दोस्रो बजारमा देखिन थालेको छ।
सर्वसाधरणमा सेयर जारी गर्नका लागि सहजीकरण गर्न बसेको निकायबाटै आवेदन दिएका कम्पनीसँग वार्गेनिङ गरेर रोक्ने काम भएको छ। यो सेयर बजारको विस्तार र विकासलाई रोक्ने काम हो। नियामक निकायको प्रमुख नै अनियमिततामा मुछिँदा त्यसले समग्र सेयर बजारमा सकारात्मक सन्देश जाँदैन।
यसले सेयर बजारमा आउन चाहेका कम्पनी हत्तोसाहित भएका छन्। सेयर जारी गर्न चाहने कतिपय कम्पनीले आवेदन नदिइ होल्डमा पनि बसेका छन्।
विभिन्न उत्पादनमूलक क्षेत्रका कम्पनीहरुले सर्वसाधरणमा सेयर जारी गर्न रोक्नु भनेको अर्थतन्त्रलाई समेत विस्तारमा ब्रेक लगाउनु हो। त्यसैले तत्कालै बोर्ड अध्यक्ष हमालबाट भइरहेको काम कारवाहीलाई सुक्ष्म ढंगले अध्ययन गरेर यसलाई टुंगोमा पुर्याउनुपर्छ। त्यसले आम सेयर लगानीकर्ता र उद्योगीव्यवसायीको मनोबल समेत बढाउन सहयोग पुग्छ।