स्टार्टप्समा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने, सहुलियतपूर्ण ऋण उपयोग गर्न सरकारी आग्रह

बिजमाण्डू
२०७७ माघ ४ गते १६:३१ | Jan 17, 2021

Tata
GBIME

काठमाडौं। वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तर्गत युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु भएको छ।  

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगाना र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुन्। 

कार्यक्रममा आर्थिक सल्लाहकार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, विषयविज्ञता र बजारको वस्तुस्थिति बारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए। 

घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे। 

मन्त्रालयका सचिव ढुंगानाले युवामैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी वर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नयाँ युवा पुस्ताको सोचमाथि लगानी गर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन आग्रह गरे।

सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अन्य बैंकभन्दा निकै अघि रहेको उल्लेख गर्दै उनले आगामी दिनमा युवा उद्यमी प्रवर्द्धनमा बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर वर्षा श्रेष्ठ, विशाल फाउण्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारी लगायतले समुद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागिताबारे मन्तव्य राखेका थिए। 

कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक विनोद गुरागाई, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैचो पसलका प्रबन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेल लगायतले विभिन्न सेसनमा आफ्नो धारणा राखेका थिए।