विद्युत प्राधिकरणमा नयाँ बिलिङ सिस्टम, १० युनिट खपत गरे ३० रुपैयाँ, ११ पुगे ५५ रुपैयाँ लाग्ने

बिजमाण्डू
२०७७ साउन ५ गते ११:३३ | Jul 20, 2020
विद्युत प्राधिकरणमा नयाँ बिलिङ सिस्टम, १० युनिट खपत गरे ३० रुपैयाँ, ११ पुगे ५५ रुपैयाँ लाग्ने


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि नयाँ बिलिङ प्रणाली लागू गरेको छ। विद्युत नियमन आयोगले समायोजन गरेको नयाँ महसुल दर कार्यान्यनका लागि प्राधिकरणले बिलिङ सिस्टम अपग्रेड गरेको हो।

Tata
GBIME

पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको निःशुल्क हुनुका साथै अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले त्यसै अनुसार बिलिङ सिस्टम समायोजन गरिएको प्राधिकरणको कम्प्युटराइज बिलिङ तथा नेटवर्किङ शाखाका प्रमुख सजुनकुमार श्रेष्ठले बताए।

नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन्।

१० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा भने प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्नेछ।

१० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिरे पुग्नेछ। तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ। तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ।

खपत अनुसार लाग्ने महसुल दरमा १५० युनिट खपत गर्दा १३ सय ४० रुपैयाँ महसुल लाग्छ। यसमध्ये डिमान्ड शुल्कबाहेकको १२४० रुपैयाँ महसुलमा २५ प्रतिशत छुट पाउने छन्।

त्यस्तै २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ। जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ।

'केही उपभोक्ताको महसुल समायोजन गर्दा १५ प्रतिशतसम्म महसुल सस्तो भएको छ। साउन ५ गतेपछि आउने बिलिङमा नयाँ दरले बिलिङ हुन्छ,' शाखा प्रमुख श्रेष्ठले भने।

सरकारले बजेटमार्फत घोषणा गरेको १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको दर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो।
आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको हो।