टुबोर्ग ओपनको नयाँ संस्करण सुरु, ग्रामी अवार्ड विजेता समूह ‘द चेनस्मोकर्स’सँग सहकार्य

बिजमाण्डू
२०७७ साउन ५ गते ०९:४३ | Jul 20, 2020
टुबोर्ग ओपनको नयाँ संस्करण सुरु, ग्रामी अवार्ड विजेता समूह ‘द चेनस्मोकर्स’सँग सहकार्य

Tata
GBIME

काठमाडौं। टुबोर्गले यस वर्षको लागि टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गर्ने कम्पनीले जनाएको छ।

विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेनस्मोकर्स’ टुबोर्ग ओपनको साथमा युरोप र एसियाका उत्कृष्ट संगीतकारहरुसँग सहकार्य गर्दै विश्वभरका संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्न लागेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
कम्पनीका अनुसार नेपालको अभियानमा नेपाली कलाकारले ‘द चेनस्मोकर्सको’को ‘सिक बोई’ एल्बमको हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘होप’ ट्रयाकको धुन प्रयोग गरि नयाँ संगीत सिर्जना गर्ने मौका पाउनेछन् ।

निर्माता जोडी एलेक्स पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेनस्मोकर्स’ ले २०१६ मा ‘दया’ सँगको ‘डन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याति प्राप्त गरे ।

सन् २०१७ को अप्रिलमा उक्त जोडीले आफ्नो पहिलो एल्बम ‘मेमोरिज….डु नट् ओपन’ रिलिज गरेका थिए, जसमा ‘कोल्ड प्ले’ ब्याण्डसँग सांगीतिक सहकार्य रहेको मल्टी–प्लाटिनम सर्टिफाइड हिट ‘समथिङ जस्ट लाइक दिस’ समावेश थियो ।

विश्वभरका प्रतिभाशाली कलाकारहरुले आफ्नो संगीत पुनःकल्पना गरेको हेर्न पाउने मौकाको बारे ड्रिउ टग्गार्टले भने, 'हाम्रो संगीत अरुले कसरी लिन्छन् भनि हेर्न हामी उत्सुक छौं। यो अभियान विविध सांस्कृतिक पृष्ठभूमिका कलाकारहरुसँग जोडिदै छ र उनीहरुले कसरी हाम्रो गीतहरुलाई प्रस्तुत गर्नेछन् भनि हामी अनुमान लगाउन सक्दैनौ । हाम्रो संगीतसँग कसरी अरुहरुले आफ्नो सांस्कृतिक प्रभावहरु मिसाएको हेर्न साँच्चै निकै रोमाञ्चक हुनेछ ।'

एलेक्स पालले भने- 'विश्वभरका कलाकारहरुले आफ्नो संस्कृति, अनुभव, शैली हाम्रो संगीतमा भरेको हेर्न साँच्चै उत्सुक छु किनकि यी देशहरुको संस्कृति र समृद्ध इतिहास विशेष रहेको छ । टुबोर्ग ओपन जस्ता अभियानहरुले संगीतलाई ठूलो र विश्वलाई नजिक लिएर आउँछ।'

अभियानको एक अंगका रूपमा विश्वभरका संगीतप्रेमीहरुले सामाजिक सञ्जालमा नयाँ ए.आर. फिल्टर प्रयोग गरी  यसमा भाग सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्मा भन्छन्, 'टुबोर्गको नेपालमा गत करिब तीन दशकदेखि धेरै प्रतिष्ठित संगीतकारहरु र धेरै सांगीतिक कार्यक्रमहरुसँग आबद्ध रही संगीतसँग लामो सम्बन्ध रहेको छ । सन् २०१८ मा नेपालमा टुबोर्ग ओपनको सुरुवात गर्दा हामीले यति प्रभावकारी होला भन्ने कल्पना गरेका थिएनौं । गत दुई वर्षको अभियानमा ‘विपुल क्षेत्री’, ‘लाउरे’र ‘नितेशजंग कुँवर’ले विश्वव्यापी कलाकारहरु ‘डिप्लो’, ‘मो’ र ‘क्लिन ब्याण्डिट’सँग सहकार्य गरी दुई वटा गीतहरु रिलिज गरिसकेका छन्। यो विश्वव्यापी सहकार्यलाई २०२० मा ‘द चेनस्मोकर्स'सँग निरन्तरता दिन पाउँदा हामी निकै खुसी छौं।' उनले टुबोर्ग ओपन मानिसहरुलाई विभिन्न संस्कृतिहरुको नयाँ संगीत अनुभव गर्न प्रोत्साहित गर्ने र मौका दिने कोशिशका रूपमा गरिएको अभियान भएको बताए।