विराटनगरबाट चिया निकासी सहज, पानी ट्ंयाकीबाट रोकिनुमा सीमा विवादको साइनो छैन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ जेठ १२ गते १२:१६ | May 25, 2020
विराटनगरबाट चिया निकासी सहज, पानी ट्ंयाकीबाट रोकिनुमा सीमा विवादको साइनो छैन

Tata
GBIME

विराटनगर। पूर्वी नेपालको विराटनगर नाकाबाट भारततर्फ चियाको निकासी भइरहेको छ भने काँकडभिट्टा नाकाबाट बन्द छ।

काँकडभिट्टा नाकाबाट चिया निकासी रोकिनुमा नेपाल भारतबीच पछिल्लो सीमा विवादको कुनै साइनो छैन। कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लाग्नेबित्तिकै भारतको पश्चिम बंगालमा चिया निकासी रोकियो।

कोरोना संक्रमण हुने भन्दै पश्चिम बंगाल विधान सभाका केही सांसदको अग्रसरतामा त्यहाँको प्रान्तीय सरकारले काँकडभिट्टा–पानीटंकी नाकाबाट हुने चियाको निकासीमा अवरोध पुर्‍याएका थिए। पश्चिम बंगाल सरकारले नेपालको चिया रोक्ने कुनै आधिकारिक निर्णय गरेको छैन, तर अनौपचारिक रूपमा एक महिनादेखि बाधा गरिएको हो।

झापाका चिया निर्यातकर्ता भक्ति अधिकारीका अनुसार चियाको निर्यात रोक्न पानीटंकी भन्सार र त्यहाँको प्रहरी दुवैको मिलेमतो देखिएको छ। भन्सारले प्रहरीलाई देखाइरहेको छ भने प्रहरीले भन्सारका कारण निर्यात हुन नसकेको बताएको छ। पश्चिम बंगालमा चियाको राजनीति महत्त्वपूर्ण मानिन्छ। चियाका व्यवसायीले त्यहाँको प्रहरी, प्रशासन, प्रान्तीय सरकार, प्रान्तीय संसद र सांसदलाई समेत प्रभावमा राखेका छन्।

पश्चिम बंगालका चिया व्यवसायीले नेपालको चियाका कारण भारतको चिया सस्तो भएको र व्यापारमा असर परेको धेरै वर्षदेखि भन्दै आएका छन्। यो वर्ष कोभिड–१९ कारण उनीहरूलाई नेपालको चियाविरूद्ध लबिङ गर्न अझ सजिलो भएको छ। नेपालको चियाबाट कोरोना संक्रमण हुन सक्ने हल्ला उनीहरूले फिँजाएका छन्।

निर्यातकर्ता अधिकारीले भारतीय व्यवसायीसँग एग्रिमेन्ट भएको आफ्नो २ लाख किलो चिया भारत निकासी हुन नसकेको जानकारी दिए। यसको मूल्य २ करोडभन्दा बढी हुन्छ। ‘लकडाउन भएकै दिनदेखि भारतीय पक्षले अवरोध गर्दै आएको छ,’ उनले भने, ‘यसका कारण गत वर्षको सिजनको चिया पनि निर्यात गर्न पाइएको छैन। यस वर्षको सिजन चैतको मध्यदेखि सुरु भयो। गत वर्षकै बिक्री नभएपछि यो सिजनको चिया बिक्रीका लागि निस्कनै पाएको छैन।’

अधिकारीले भारतमा प्रतिदिन चियाको खपत २७ देखि ३० लाख किलोग्राम रहेको जानकारी दिए । नेपालबाट वर्षमा ७० लाखदेखि १ करोड किलो चिया भारत निकासी हुन्छ।‘यसप्रकार नेपालले पठाउने चिया भारतलाई बढीमा ४ दिनको खपतका लागि मात्र हो,’ उनको भनाइ छ, ‘तर पनि ज्यादा राजनीति भएर नेपालको चिया रोकिएको छ।’

काँकडभिट्टा नाकाबाट अर्थोडक्स चियाको निर्यात पनि रोकिएको अधिकारीले बताए। उनले थपे, ‘अर्थोडक्स चियाका लागि विश्वभरि दार्जीलिङको ब्रान्ड प्रसिद्ध छ। दार्जीलिङमा भन्दा नेपालको पूर्वी पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया गुणस्तरीय छ। भारतका व्यवसायी नेपालको अर्थोडक्स चिया लुजमा खरिद गर्छन् र त्यसैलाई राम्रो प्याकिङ गरेर दार्जीलिङको ब्रान्ड भिराएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छन्।’

नेपाल टी प्लान्टर्स एसोसिएसनका सल्लाहकार उदय चापागाईंले नेपालका चिया व्यवससायीले काँकडभिट्टा नाकाको प्रयोग गर्न नपाएपछि विराटनगर नाकाको उपयोग गरिरहेको र यसमा घाटा रहेको बताए। उनले तत्काल पहाडको अर्थोडक्स चिया १० लाख किलो र तराइको सिटिसी चिया २५ लाख किलो काँकडभिट्टा नाकाबाट निर्यात हुन नसकेको जानकारी दिए।

व्यवसायी चापागाईंका अनुसार विराटनगर–जोगबनी नाकाबाट चियाको निर्यात गर्दा ढुवानी खर्चमा प्रति किलोग्राम भारु ८ रुपैयाँ थपिन्छ।
‘हाम्रो मार्जिन भनेकै यही ८–१० रुपैयाँ हो,’ उनले भने, ‘नेपालको ८० प्रतिशत चिया भारत नै निर्यात हुने हो। तर चियालाई विराटनगरबाट सिलीगुडी ल्याएर कोलकाता पुर्‍याउँदा बाटो पनि घुमाउरो पर्छ।’

चापागाईंले आफ्नो १ लाख ५० हजार किलो चिया निर्यात हुन नसकेको दाबी गरे। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले चियाको निर्यात हुन नसकेको तथ्य संघले बेलामा नै नेपाल सरकारलाई जानकारी गराएको बताए। अध्यक्ष मित्तलले भने, ‘भारत एउटै मुलुकमा दुई प्रकारको रवैया छ। पानीटंकी नाकाबाट नेपालको सम्पूर्ण निर्यात रोकिएको छ, तर जोगबनी नाका खुला गरिएको छ।’

उनले चिया मात्र नभई नेपालबाट भारततर्फ निकासी हुने सबै मालवस्तु पानीटंकी नाकामा भारतीय कस्टम र प्रहरीले रोकेको जानकारी दिए। मित्तलले भने, ‘निर्यातका लागि भारतबाट खाली गाडी यता आउनै दिएका छैनन्। एक महिनादेखि यही रवैया छ। पश्चिम बंगालस्थित टी बोर्ड, टी प्लान्टर्स एसोसिएसन र अन्य ठूला व्यवसायी त्यहाँको भन्सार र प्रहरी–प्रशासन आफ्नो हातमा रहेको धक्कू लगाउँछन्।’

विराटनगरका चिया उद्योगी रामकुमार राठीले आफूले जोगबनी नाकाबाट चिया निर्यात गरिरहेको जानकारी दिए। उनले भने, ‘हाम्रो कम्पनीको चिया प्रायः जोगबनीबाटै निर्यात हुन्छ। यहाँबाट कुनै समस्या छैन।’

विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले पनि यस नाकाबाट चियाको निर्यातमा समस्या नरहेको स्पष्ट पारे। काँकडभिट्टा भन्सारका प्रमुख ध्रुव विश्वकर्माले त्यस नाकाबाट भने निर्यात रोकिएको पुष्टि गरे।