दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल, आपूर्तिमा समस्या छैन

बिजमाण्डू
२०७६ चैत्र १८ गते १४:०९ | Mar 31, 2020

Tata
GBIME

वीरगंज। नेपालबाट भारतीय सीमावर्ती शहर रक्सौलमा तेल भर्न जाने क्रममा मितेरी पुलमा रोकिएका ३५ वटा ट्यांकर रक्सौल जान थालेका छन्।

भारतीय अधिकारीको निर्देशनमा सोमवार रक्सौल भन्सार नजिक भारतीय सुरक्षाकर्मीहरुले तारजाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारीसाधन तथा आवागमनमा रोक लगाएका थिए।

नेपालबाट इन्धन लिन गएको ट्यांकर बिहान साढे ८ बजेपछि साढे १० बजे सम्म मितेरी पुलमै रोकिएको टयाकंरका चालकहरुले गुनासो गरेका थिए। नेपाल आयल निगम वीरगंजका प्रमुख रामकुमार न्यौपानेले सोमवारको घटनाले मितेरी पुलमा केही घण्टा इन्धनको गाडीलाई अवरोध भए पनि वीरगंजस्थित वाणिज्य दूतावासको पहलमा भारतीय अधिकारीसँग अवरोध हटाई गाडी प्रवेश गर्न दिने सहमति भइसकेको बताए।

गाडी रोकेर भारतीय सुरक्षाकर्मीले अलौस्थित आइसिपी भन्सार नाकाबाट इन्धनका गाडी लैजान आग्रह गरेका थिए। तर, मितेरी आइसिपीको नाकाबाट घुमेर जादा एकतर्फी  १६ किलोमिटरको दुरी बढ्ने भएकोले चालकहरुले पुलदेखि शंकराचार्य गेटसम्म गाडी उभ्याएर राखेका थिए।

भारतीय महावाणिज्यदूतावासका आर्थिक शाखा हेर्ने वाणिज्यदूत कोट्रा स्वामीले इन्धन लिन जान दिने कुरामा सहमति भइसकेको बताए।

‘रक्सौलका एसडिएम अमित कुमारसँग तारजाली हटाएर इन्धन भर्न रोकिएका गाडीहरुलाई जान दिन उनले मातहतको सुरक्षा निकायलाई पत्राचार गर्दै जानकारी गराइसकेका छन्, चाडै सबै गाडी जान्छन्,’ उनले भने।

डिजेल, पेट्रोल लिन अमलेखगञ्ज, पोखरा र काठमाडौंबाट ट्यांकरहरु रक्सौल डिपो गइरहेका थिए।