‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को सातौ संस्करण फागुनमा आयोजना हुने, आजैबाट स्टल बुकिङ खुला

बिजमाण्डू
२०७४ माघ ९ गते १७:०४ | Jan 23, 2018

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने 'नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला' २०१८ को सातौ संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ।

Tata
GBIME

फागुन २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट स्टल बुकिङ खुला गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ।

कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ। मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेसिया लगायतका देशहरूको पनि सहभागिता रहनेछ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू र एनटीआइएस प्रोडक्टहरू रहने छन्। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका छुट्टाछुट्टै स्टलहरू रहने छन्।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ। मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानी वारे छलफल समेत हुने छ।

यो वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ। महासंघले आयोजना गरेको छैटौ संस्करणमा स्वदेशी विदेशी गरी ३ सय ४० स्टल रहेका थिए भने एक लाख भन्दा बढी देशी/विदेशी अवलोकनकर्ताले अवलोकन गरेका थिए।

नेपाल सरकार वाणिज्य मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्दन केन्द्रको प्रवर्दन, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो।