केंरुङ-काठमाडौं रेलमार्गमा चीनको सक्रियता, संभाब्यता अध्ययन गर्दै चिनियाँ टोली पोखरा पुग्यो

बिजमाण्डू
२०७४ कात्तिक २२ गते १७:४५ | Nov 8, 2017

काठमाडौं।चीनको उच्च प्राविधिक सहितको सरकारी टोली नेपालमा रेलको सम्भाव्यताबारे अध्ययन गर्नका लागि गत सोमबारदेखि स्थलगत अध्ययनमा रहेको छ।

अहिले उक्त टोली सम्भाव्यता अध्ययनकै लागि पोखरा पुगेको रेल विभागका सिनियर इन्जिनियर एवम् प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।
चीनमा रेल निर्माण गर्दै आएका पाँच भिन्न कम्पनीका प्राविधिक,परराष्ट्र,यातायात मन्त्रालयका प्रतिनिधी,परामर्शदाता कम्पनी,निर्माण व्यवसायी,बैंकका प्रतिनिधी लगायतको २३ सदस्यीय टोली अहिले सम्भाव्यताबारे अध्ययन गरिरहेको छ।

Tata
GBIME

उक्त टोलीसंगै नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका र रेल विभागका अधिकारीहरु समेत सम्मिलित भएर स्थलगत अध्ययनमा गरिरहेका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ  रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो। मन्त्रालयमा भएको छलफलमा केंरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि चीनियाँ पक्ष सकारात्मक देखिएको रेल विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए।

 उक्त टोलीले मंगलबार काठमाडौबाट धादिङको गल्छि हुदै रसुवासम्म पुगेर स्थलगत अध्ययन गरेका थिए। स्थलगत अध्ययनपछि केरुङबाट काठमाडौसम्म रेल ल्याउनका लागि ठूला पहाड र भौगोलिक कठिनार्इ देखिएकाले  लगानी भने धेरै लाग्न सक्ने चिनियाँ प्राविधिकले बताएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए।

त्यसैगरी उक्त टोली बुधबार स्थलगत अध्ययनका लागि पोखरा पुगेका छन्।पोखरा पुगेको उक्त टोली सकारात्मक र उत्साहित देखिएको रेल विभागका अधिकाहरुले बताएका छन्।

सयुक्त टोली बिहीबार लुम्बिनीसम्मको स्थलगत अध्ययन गरी काठमाडौं फर्कनेछन्। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वृहत छलफल गरी  रेलनिर्माणबारे आफ्नो औपचारिक धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता उपाध्यायले बताए।साथै केरुङ-काठमाडौ रेलमार्ग निर्माणका लागि नेपाल र चीनियाँ पक्षका बीचमा सम्झौता हुनसक्ने बताइएको छ।

तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ। उक्त रेल मार्ग निर्माण गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।अहिले चिनियाँ प्राविधिक टोलीले भने केरुङ-काठमाडौं-पोखरा-लुम्बिनीसम्मकै रेलमार्ग निर्माण बारे स्थलगत अध्ययन गरिरहेको छ।

चिनियाँ रेलवे प्रशासनका उपप्रमुख चेङ चियन नेतृत्वको टोलीले नेपालमा रेलको सम्भाव्यता बारे अध्ययन थालेको हो।
चीनको ल्हासाबाट सिगात्से हुँदै सन् २०२०सम्ममा रेल  केरुङसम्म आइपुग्ने भएपछि त्यहाँबाट नेपाल जोड्न खोजिएको रेल विभागका अधिकारीहरु बताउछन्।