विवेकशील र साझा पार्टी ‘मर्ज’ हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम, बलियो वैकल्पिक शक्ति बन्ला?

बिजमाण्डू
२०७४ साउन ११ गते १०:१९ | Jul 26, 2017
काठमाडौँ। वैकल्पिक राजनीतिक शक्तिका रुपमा अभियान चलाइरहेका साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन्। वैकल्पिक शक्तिका रुपमा स्थापित हुन संघर्ष गरिरहेका दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन्। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट दिउँसो १ः३० बजे एकीकरणको घोषणा हुँदैछ।
 

रवीन्द्र मिश्र नेतृतमा रहेको साझा र उज्जवल थापा नेतृत्वको विवेकशील एकीकरणपछि पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बन्नेछ । मिश्र र थापाको सामूहिक नेतृत्वमा पार्टीको काम कारबाही अघि बढ्नेछन्। पार्टीको नाम विवेकशील साझा पार्टी प्रस्तावित छ।
 
विवेकशील दोस्रो संविधान सभा निर्वाचनदेखि दलीय हैसियतमा राजनीतिमा छ। त्यसअघि सामाजिक अभियान चलाउने संस्थाका रुपमा परिचित थियो। भने, साझा पार्टी गत वर्षमात्र स्थापित भएको हो।
 
पहिलो चरणको स्थानीय तह निर्वाचनमा उपत्यकामा दुवै दलले लोकप्रिय मत पाएका थिए। तर, दोस्रो चरणको निर्वाचनमा भने दुवै दल चर्चामा समेत आउन सकेनन्। काठमाडौँ र ललितपुर महानगरमा भने साझा र विवेकशीलका उम्मेद्वारले पपुलर मत पाएका थिए। पहिलो चरणको चुनावी परिणामसँगै वैकल्पिक शक्तिका रुपमा अएका दुवै दललाई एकीकृत हुन जनस्तरबाट सुझाव समेत थियो ।
 
स्थानीय तह निर्वाचनअघि पारित राजनीतिक दलसम्वन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिक तर्फ सदर मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य गरेपछि दलबीचमा एकीकरणले तीव्रता ल्याएको छ। हाल सदनमा विचाराधीन प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयकले पनि राजनीतिक दलसम्वन्धी विधेयकको प्रावधानलाई नै थ्रेसहोल्ड मानेको छ। यस्तै प्रदेश सभा सदस्य निर्वाचनमा पनि डेढ प्रतिशत थ्रेसहोल्ड प्रस्तावित छ। थ्रेसहोल्डको व्यवस्थाका कारण पनि साना दलहरु धमाधम एकीकरण अभियानमा छन्।

Tata
GBIME