काठमाडौँ । तिहार यता लोडसेडिङ नहुँदा तपाइँलाई पक्कै राहत भएको छ। यो अवस्था निरन्तर रहोस् भन्ने चाहनु हुन्छ? पक्कै चाहनु हुन्छ।
त्यसका लागि तपाईँले विद्युत प्राधिकरणलाई सानो सहयोग गर्नु पर्ने हुन्छ। त्यो हो- दिनमा छ घण्टा धेरै बिजुली खपत गर्ने चार उपकरण चलाउनु भएन। त्यसो गरेमा २४सै घण्टा बत्ति बाल्न, टिभि हेर्न पाउनु हुनेछ।
बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको 'पिक आवर'मा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो।
लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ। छ घण्टा बाहेक जुन सुकै समयमा यी उपकरण चलाउन सकिनेछ।
प्राधिकरणका अनुसार पिक आवरमा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ। दिनभर यो २०० मेगावाट मात्र रहेन र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।
उनले यहि माग र आपूर्तिको सन्तुलन मिलाएर उपत्यकालाई लोकसेडिङ मुक्त गर्न कम्मर कसेका छन्। राजधानीमा आसपासकै भोटेकोशी, खिम्ती एवं त्रिशुली करिडोरका परियोजनाबाट विद्युत आपूर्ति हुने गरेको छ। त्यस बाहेक पिक आवरमा कुलेखानीको समेत सहयोग रहन्छ।
पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाइ बत्ति बाल्ने, टिभी हेर्ने लगायतका काम मात्र गर्ने हो भने लोडसेडिङ व्यवस्थापन कठिन नहुने प्राधिकरण व्यवस्थापनको विश्वास छ।