काठमाडौं। काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई ४ विकेटले हराएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

काठमाडौंका लागि राशिद खानले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ५० रन बनाउँदा मध्यक्रममै ब्याटिङ गर्न आएका कप्तान करण केसीले २० बलमा ४४ रन बनाए। त्यस्तै, जहानदाद खानले अविजित २० रन बनाउँदा मोहम्मद आदिल आलमले पनि समान २० रन नै बनाए।
एनपीएलमा आज डेब्यु गरेका डेभिड वार्नरले भने १६ रन बनाउँदै सोमपाल कामीको बलमा बोल्ड आउट भए।

बलिङमा कर्णालीका सोमपाल कामी र हुसैन तलतले समान २ तथा मार्क वाट र नन्दन यादवले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा समेटिएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाउँदै इनिङ अघि बढाउँदा हुसैन तलतले ४० रन बनाएर यसलाई माथि लैजान योगदान दिए। त्यस्तै, गुल्सन झाले २० रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे।

बलिङमा करण केसीले २ विकेट लिँदा सहाब आलम,, जहानदाद खान, देव साह र सन्तोष यादवले समान १ विकेट लिए।

खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको थियो। आजको खेलमा काठमाडौंले डेभिड वार्नरलाई प्लेइङ ११ मा स्थान दियो। उनी हिजोमात्र काठमाडौं आएका थिए।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।










