१६ वर्षे राहुल प्रभावकारी हुँदा चलेन काठमाडौंको ब्याटिङ, ११६ रनको लक्ष्य

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १४:०६ | Oct 29, 2026
१६ वर्षे राहुल प्रभावकारी हुँदा चलेन काठमाडौंको ब्याटिङ, ११६ रनको लक्ष्य
बलिङमा राहुल यादव।


काठमाडौं। काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्स सामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ३ बल कम खेल्दै ११५ रन बनाएर अलआउट भएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। आजको खेल खेल्न काठमाडौंका सुपरस्टार डेभिड वार्नर नेपाल आइपुगेनन्। त्यस्तै, जनकपुर पनि जिम्मी निशमबिनै उत्रिएको छ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रासिद खानले १७ तथा स्मित पटेलले १३ रन बनाए। काठमाडौंका ब्याटरलाई मुस्किलमा पार्न जनकपुरका १६ वर्षे राहुल यादवले महत्वपूर्ण भूमिका खेले। उनले साम हेजलेट, स्मित पटेल, करण केसी र आदिल आलमलाई पभेलियन फर्काए। उनले यसअघि पहिलो खेलमा पनि कसिलो बलिङसहित दुई विकेट लिएका थिए।

त्यसबाहेक सैफ हसनले २ विकेट लिँदा मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए।

पिचमा जनकपुर र काठमाडौंको संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

जनकपुर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

वर्षाको पुर्वानुमानबीच स्टेडियममा आज कम संख्यामा दर्शक आएका छन्।

काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल चलिरहँदा कीर्तिपुरको आकाश धुम्मिएको छ। कुनै पनि बेला खेल प्रभावित हुन सक्ने देखिन्छ।

जनकपुर बोल्टस् प्लेइङ ११

हरमीत सिंह (कप्तान), मोइन अली, सैफ हसन, कुशल परेरा, ललित राजवंशी, अनिलकुमार साह, मयन यादव, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव, अमरसिंह रौटेला

काठमाडौं प्लेइङ ११

करण केसी (कप्तान), भीम सार्की, राशिद खान, आदिल आलम, शाहब आलम, सुमित महर्जन, हरिशंकर शाह, स्मित पटेल, जहानदाद खान,  साम हेजलेट, रिपोन मण्डल