बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखास्थित मनास्लु क्षेत्रको स्याउ थन्कियो गोदाममै

बिजमाण्डू
२०८३ कात्तिक १२ गते ११:१५ | Oct 29, 2026
बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखास्थित मनास्लु क्षेत्रको स्याउ थन्कियो गोदाममै
तस्बिर : रासस।


गोरखा। बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्। ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे।

GBIME
Tata

गत असोस २५ गते चुमनुब्री गाउँपालिका-६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ। जसका कारण आवतजावतमा समस्या भएको हो।

बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ। चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्न सक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन्।

उनी भन्छन्, ‘गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन। झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन।’

लामाले चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित २ हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गरेका छन्। इन गोरखा प्रोडक्ट प्रालि नामक उनको स्याउ फर्ममा यस वर्ष १ लाख किलो स्याउ उत्पादन भएको उनी बताउँछन्।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष १ लाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ।

‘फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ। गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो। अहिले बिग्रन थालिसके,’ उनले भने, ‘भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन। त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन।’

यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेर जाने अवस्था रहेको उनले गुनासो गरे।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो। तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ।

नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पुर्‍याउन करिब एकहप्ता लाग्छ। यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ।

साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन्। हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलाई।

‘आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो। बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन। हामी साह्रै मर्कामा छौँ,’ व्यवसायी लाक्पा डुन्डुप भन्छन्।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउ लगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन। बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन्। धेरै उत्पादन हुनेहरूको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन। रासस