काठमाडौं। मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडकखण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक-पटक म्याद थप्दा पनि निर्माणमा सन्तोषजनक प्रगति नभएपछि सडक डिभिजन इलामले बुधबार ठेक्का सम्झौता अन्त्य गरेको हो।
इलाम, पाँचथर र ताप्लेजुङका लागि महत्त्वपूर्ण मानिएको केचना-कञ्चनजङ्घा सडकअन्तर्गत ९.५ किलोमिटर खण्ड निर्माणको सम्झौता २०७८ असार २९ गते भएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।
तर, पटक-पटक म्याद थप गरी कुल ६३ महिनापछि पनि सडक निर्माणको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित छ। पछिल्लो ७ महिनामा ३ प्रतिशतभन्दा कम काम भएपछि डिभिजनले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म विभिन्न आयोजनाका १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। ती ठेक्काबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ।
त्यस्तै, कार्यालयले कार्यसम्पादन जमानतबापतको ६ करोड ७९ लाख रुपैयाँ जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको छ। कानुन र ठेक्का सम्झौताअनुसार असुल गर्नुपर्ने अन्य बाँकी रकमसमेत असुल गरिने डिभिजनले जनाएको छ।










