भारत सरकारले सरकारी कमर्चारीहरुको महंगी भत्तामा ३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।
बुधबारको मन्त्रिपरिषद बैठकले १ जुलाई २०२६ देखि लागू हुने गरि यो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
सरकारको यस निर्णयसँगै कर्मचारीहरुले अघिल्ला महिनाहरुको बक्यौता (एरियर) समेत यो दिपावलीअघि नै प्राप्त गर्ने भनिएको छ।
भत्ता वृद्धिसँगै केन्द्रीय कर्मचारी तथा पेन्सन पाउनेहरुको महंगी भत्ता ६० प्रतिशतबाट बढेर ६३ प्रतिशत पुगेको छ।
यो निर्णयबाट सरकारी कोषबाट थप करिब १० हजार करोड भारतीय रुपैयाँ बराबरको अतिरिक्त वित्तीय खर्च हुने जनाइएको छ।
महंगी भत्तामा भएको वृद्धि कर्मचारीको आधारभूत तलबको आधारमा निर्धारण हुने भनिएको छ। उदाहरणका लागि ५६ हजार १०० भारतीय रुपैयाँ आधारभूत तलब रहेका वरिष्ठ अधिकारीहरुको मासिक तलबमा करिब १ हजार ६८३ रुपैयाँको सोझो बढोत्तरी हुने भएको छ।
यो निर्णय गएको जुलाई १ देखि लागू गर्ने निर्णय भएको छ। त्यसैले जुलाई, अगस्ट र सेप्टेम्बर महिनाको बाँकी बक्यौता रकम आगामी तलबसँगै भुक्तानी गरिने भएको छ।
भारत सरकारले आफ्ना कर्मचारी र पेन्सन पाउनेहरुका लागि एक वर्षमा दुई पटक महंगी भत्ता र महंगी राहत पुनरावलोकन गर्ने गर्दछ। पहिलो संशोधन जनवरी १ देखि र दोस्रो संशोधन जुलाई १ देखि लागू हुने गर्छ।
यसअघि गत अप्रिल महिनामा सरकारले महंगी भत्तामा २ प्रतिशतको वृद्धि गरेको थियो।










