प्रहरी अधिकारीहरुसँग महानिरीक्षक कार्कीको छलफल, ब्रिफिङमा के के विषय उठ्यो ?

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १६:४९ | Oct 28, 2026
प्रहरी अधिकारीहरुसँग महानिरीक्षक कार्कीको छलफल, ब्रिफिङमा के के विषय उठ्यो ?


काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुसँग आज छलफल गरेका छन्। भर्चुअल माध्यमबाट भएको छलफलमा उनले समसामयिक विषयमा निर्देशन पनि दिएका थिए।

GBIME
Tata

उनले दसैंमा देशभर भएको सुरक्षाको अवस्था, कमीकमजोरी लगायतका विषयमा प्रहरी अधिकारीहरुबाट ब्रिफिङ लिएका थिए। त्यसक्रममा उनले दसैंको बेला सुरक्षा अवस्था सन्तोषजनक भए पनि कमजोरी भएको ठाउँमा सुधार गर्नुपर्ने उनले बताएका थिए।

त्यस्तै, तिहार र छठ पर्वमा पनि उच्च मनोबलको साथ खटिन उनले निर्देशन दिएका थिए।

आइजी कार्कीले संगठनभित्रका कामकारबाही बाहेक बाहिर चलेका हल्लाहरु बारेमा सो छलफलमा ब्रिफिङ गरेका थिए। आफू माथि संगठनका केही व्यक्तिले नियोजित हल्ला फैलाउने गरेको संकेत उनले दिएका थिए।

त्यसक्रममा उनले त्यस्ता व्यक्तिहरु माथि विभागीय कारबाही हुने चेतावनी समेत दिएका थिए।

‘सांकेतिकरुपमा उहाँले आफूसँग जोडिएका विषयमा पनि केही भन्नु भएको थियो। तर, उहाँको मनोबल उच्च देखिएको थियो,’ छलफलबारे जानकार एक प्रहरी अधिकृतले सुनाए।

पछिल्लो समय आइजी कार्की विरुद्ध म्यादी प्रहरीको पोसाक खरिदसँग जोडेर विभिन्न टीकाटिप्पणी समेत भइरहेका छन्। सो विषयमा संसदीय समितिले पनि अध्ययन गरिरहेको छ। कार्कीले भने आफू माथि खुल्ला रुपमा अनुसन्धान गर्न भनेर अभिव्यक्ति नै दिएका छन्।

आइजी कार्कीले मंगलबार गृहमन्त्री सुधन गुरुङसँग पनि लामो समय छलफल गरेका थिए। त्यसलगतै उनले जिल्ला प्रहरी प्रमुखहरुसँग सुरक्षाको विषयमा भर्चुअल छलफल गरेका हुन्।

त्यसक्रममा कार्कीले एक वर्ष पुरा भएका जिल्ला प्रहरी प्रमुख (एसपी)हरुको सरुवा पनि चाँडै हुने बताएका थिए। एक वर्ष पुरा भएका प्रहरीहरु समयमा सरुवा नहँदा अन्योलमा छन्।

भर्चुअल कन्फरेन्समा कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय, गण तथा गुल्म र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत प्रहरी निरीक्षक प्रमुख रहने विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।