काठमाडौं। चीनसँगका दुई नाका बन्द हुँदा तथा बाढी पहिरोका कारण मुख्य राजमार्गमा आवागमन प्रभावित हुँदा पनि आयात निर्यात उल्लेख्य रुपमा बढेको छ। चालु आर्थिक वर्ष तीन महिनामा आयात ३८.१८ र निर्यात ५७.०३ प्रतिशतले बढेको हो।
दसैंका कारण आयात असोजमा ह्वात्तै बढेको छ। साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड र भदौमा २ खर्ब १४ अर्ब ७ करोड रुपैयाँको वस्तु भित्रिएकामा असोजमा २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। पोहोर पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोडको वस्तु भित्रिएको थियो।
धेरै मूल्यको आयात हुने वस्तुको सूचीमा कच्चा भटमास तेल पहिलो नम्बरमा छ। तीन महिनामा ५० अर्ब रुपैयाँ भन्दा बढीको कच्चा भटमास तेल भित्रिएको छ। कच्चा भटमास तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट ल्याइएको हो।
यस्तै, ४७ अर्ब ३१ करोडको २ लाख ८८ हजार किलोलिटर डिजल, २४ अर्ब ६२ करोडको १ लाख ८१ हजार किलोलिटर पेट्रोल र २३ अर्ब १८ करोडको १७ करोड १९ लाख ८४ हजार किलो एलपी ग्यास आयात भएको छ।
तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। त्यसमध्ये करिब ३८ अर्बको निर्यात असोजमा भएको हो। पोहोर साउनदेखि असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो।










