काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर आइतबार बिहान बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको छ। बाढीले चुमनुब्री गाउँपालिका–६ स्थित जगतमा सातवटा घर बगाएको छ। स्थानीय बासिन्दा सुरक्षित स्थानमा पुगिसकेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
आज (आइतबार) बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए। बिहान करिब साढे ४ बजे बूढीगण्डकी नदीमा पानीको बहाव एक्कासि बढेको थियो। खोलामा लेदो र गेग्रानसहितको बाढी आएको बताइएको छ।
चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा ठूलो आवाजसहित पानी बगेको स्थानीयले बताएका छन्। लोक्पाका स्थानीय शेराप गुरुङका अनुसार केहीबेर खोला थुनिएजस्तो हुने र फेरि ठूलो आवाजसहित बग्ने गरेको सुनिएको थियो।
बाढीले बूढीगण्डकी नदीको बहाव अत्यधिक बढाएको छ। यसले नदीको तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिर्दिबासमा पानी बस्तीमा पसेको जानकारी आए पनि मानवीय क्षतिको जानकारी नआएको बताए। ‘विवरण संकलन भइरहेको छ। जगत भन्ने ठाउँमा घर बगाएको भन्ने खबर आएको छ। तर कति क्षति भयो र अवस्था कस्तो छ भन्नेबारे यकिन जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘घटनास्थलमा प्रहरी खटाइएको छ र थप विवरण संकलन भइरहेको छ।’
बाढीको कारण उग्युलुङ खोला थुनिएको बताइए पनि त्यसको अवस्था र बाढीले पुर्याएको थप क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। नदीको बहाव बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
प्रहरीका अनुसार चुमनुब्री-६ को लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बुढीगण्डकी नदीको बहाव थुनिएको थियो। उक्त अवरोध माथिबाट पानी बग्न थालेपछि बाढी आएको अनुमान गरिएको छ। बिहानै पहिरोले नदी थुनिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबासबाट र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो। बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बाढीले माछीखोलामा दुई घर र सिर्दिबास जोड्ने झोलुंगे पुल बगाएको छ।









