दिल्ली-काठमाडौं हवाई भाडा ३ गुणाले वृद्धि, चाडबाडमा यात्रुसँग चर्को असुली

जनक वली
२०८३ असोज २४ गते १६:०६ | Oct 10, 2026
दिल्ली-काठमाडौं हवाई भाडा ३ गुणाले वृद्धि, चाडबाडमा यात्रुसँग चर्को असुली


काठमाडौं। दसैंको मुखमा भारतीय वायुसेवा कम्पनीले दिल्ली-मुम्बईबाट काठमाडौंका लागि भाडा निकै नै चर्को बनाएका छन्।
सामान्य समयमा बढीमा २५ देखि ३० हजार रुपैयाँ आसपास पाइने दुईतर्फी (राउन्ड ट्रिप) हवाई टिकटको मूल्य अहिले ३ गुणाभन्दा बढीले बढेर ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ।

GBIME
Tata

चाडबाड, पर्यटकीय सिजन तथा यात्रुको अत्यधिक चापको बहानामा एयरलाइन्स कम्पनीहरूले भाडा दर उच्च रूपमा बढाएका हुन्। ट्राभल एजेन्सीहरूका अनुसार सामान्य अवस्थामा दिल्ली-काठमाडौं-दिल्लीको भाडा २५ देखि ३० हजार रुपैयाँसम्म थियो।

तर, पछिल्ला दिनहरूमा माग ह्वात्तै बढेपछि एयरलाइन्सहरूले एकतर्फी भाडामै दिल्ली-काठमाडौं रुटको एकतर्फी भाडाको दर ६८ हजार रुपैयाँसम्म असुल गरिरहेका छन्। जबकी अहिले पनि काठमाडौं-दिल्लीको भाडा दर १५ हजार मात्र छ। तर, दिल्ली-काठमाडौं उडानको टिकटमूल्य अस्वाभाविक रुपमा बढाइएको छ।

चाडबाडको समयमा घर फर्किने नेपालीहरूका साथै स्वास्थ्य उपचारका लागि दिल्ली जाने बिरामी र अध्ययनका लागि जाने विद्यार्थीहरू भाडा वृद्धिका कारण सबैभन्दा बढी प्रभावित बनेका छन्। व्यापारी तथा यात्रुहरूका अनुसार एयरलाइन्सहरूले माग बढेको मौका छोपी मनपरी ढंगले भाडा वृद्धि गर्दा पनि नियामक निकायले ध्यान नदिएको गुनासो गरेका छन्।

यसरी हवाई भाडामा अचाक्ली वृद्धि हुँदा चाडपर्वमा स्वदेश फर्किने नेपालीहरूका साथै नेपाल आउने विदेशी पर्यटकहरूसमेत प्रभावित भएका छन्।

नेपालले काठमाडौं हुने उडानको भाडा दरमात्र नियमन गर्ने तर अन्य देशबाट हुने उडानको नियमन गर्न अधिकार नभएको पर्यटन मन्त्रालयका एक कर्मचारीले बताए।

‘हामीले काठमाडौंबाट हुने उडानको दर नियमन गर्न हो। तर, दिल्ली काठमाडौं रुटमा हामीले हेर्न पाउँदैन,’ मन्त्रालयका एक कर्मचारीले भने।

मात्र १ घण्टा ३० मिनेटको यो छोटो दूरीको हवाई यात्रा लामो दूरीका अन्य अन्तर्राष्ट्रिय गन्तव्यको तुलनामा अत्यधिक महँगो बनेपछि यात्रुहरू मारमा पारेका छन्।

दिल्ली-काठमाडौं रुटमा एयर इन्डिया र इन्डिगो एयरलाइन्सले उडान गर्दै आएका छन्। नेपाल एयरलाइन्सले जहाज ग्राउन्डेड भएपछि यस रुटमा नेपाली वायुसेवाको उडान छैन।

‘हाम्रो एयरलाइन्स कम्पनी छैन। अब उनीहरूले जतिको भाडा तोकेपनि हामीले तिर्नुको विकल्प छैन। हाम्रो एयरलाइन्स चलिरहेको भए भाडादरमा उनीहरूको मनपरी ब्रेक गर्न सक्ने अवस्था रहन्थ्यो,’ एक ट्राभल एजेन्सीका संचालकले भने, ‘अहिले हाम्रो एयरलाइन्सले उडान नै गर्न सकिरहेको छैन। त्यसले पनि उनीहरूको मोनोपोली झन बढेको देखिन्छ।’

आइतबारमात्र दिल्ली-काठमाडौं रुटका उडानमा इकोनोमी र बिजनेस क्लासका सीटमा भाडा निकै नै चर्को छ। इन्डिगोमा भाडा प्रति यात्रु ६४ हजार २७८ रुपैयाँ छ भने मंगलबार अझ बढाएर ६८ हजार ६९० रुपैयाँ राखिएको छ। यस्तै, एयर इन्डियामा ७० हजार १४ रुपैयाँ छ।

आपत्कालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुहरूका लागि तेब्बर भाडा तिर्नुपर्ने बाध्यताले ठूलो आर्थिक भार थपेको छ। दसैंमा हवाई उडानबाट घर आउने नेपालीलाई चर्को भाडाले अस्वाभाविक खर्च वृद्धिसँगै अप्ठ्यारो पारेको छ।

एकतर्फी उडानमा ६० हजार तिरेर दिल्लीबाट शुक्रबार काठमाडौं आएका एक यात्रुले भने, ‘भाडा एकैपटक अचाक्ली बनाइनु नहुने हो। भाडादरमा अस्वाभाविक रूपमा उच्च बनाइएको देखादेखी नियामक चुपचाप बस्नु ठिक होइन।’

यतिबेला नेपाली ध्वजावाहक नेपाल वायुसेवाको उडान बन्दले पनि भारतीय वायुसेवामा चाप छ।