बैंकले विकल्पसहित ल्याए चाडपर्व लक्षित कर्जा स्किम, ‘ऋणीलाई यस्तो अवसर कहिल्यै आउँदैन’

आकाश बोगटी
२०८३ असोज १९ गते १९:०५ | Oct 5, 2026
बैंकले विकल्पसहित ल्याए चाडपर्व लक्षित कर्जा स्किम, ‘ऋणीलाई यस्तो अवसर कहिल्यै आउँदैन’


काठमाडौं। नजिकिएको दसैंतिहारलाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरका स्किम ल्याएका छन्।

Vigo
GBIME
Tata

ग्राहक आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाले न्यून ब्याजदरमा स्थिर र परिवर्तित ब्याजदरको विकल्पसहितका स्किम ल्याएका हुन्। बैंकले ल्याएको सस्तो ब्याजदरका स्किम देखेर जानकारहरुले ऋण लिन चाहनेलाई ऐतिहासिक अवसर भनेका छन्।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय चाडपर्वलाई लक्षित गर्दै घर र अटो कर्जाको स्किम ल्याएको बताउँछन्। उनका अनुसार बैंकले ग्राहकलाई विकल्पको रुपमा न्यून ब्याजदरमा स्थिर र परिवर्तित ब्याजदरका स्किम ल्याएको छ।

‘हामीले ग्राहकलाई सहज होस् भनेर स्थिर ब्याजदरमा कर्जा लिनेका लागि र फ्लोटिङमा लिनेका लागि न्यून दरमा दुवै विकल्प दिएका छौं,’ उनले भने,’ परिवर्तितका हकमा ४.९१ प्रतिशत र फिक्सका हकमा ५.९९ प्रतिशत ब्याजदरको स्किम ल्याएका छौं।’

नेपाल बैंकले अटो कर्जा ४.९० प्रतिशत परिवर्तित ब्याजदरमा दिइरहेको छ। ७ वर्ष अवधिको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क लिने बैंकले जनाएको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गर्दै २० वर्ष अवधिका लागि ‘मेरो घर कर्जा’ नामक स्किम ल्याएको छ। बैंकले ५.५१ प्रतिशत ब्याजदरमा २० वर्ष अवधिको कर्जा योजना ल्याएको हो। कर्जामा ०.२५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। यस्तो कर्जा ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म लिन सक्छन्।

राष्ट्रिय वाणिज्य बैंकमा सीइओ देवेन्द्ररमण खनाल चाडपर्वलाई लक्षित गरी घर घडेरी र अटो कर्जाको स्किम ल्याएको बताउँछन्।

‘चाडपर्वलाई लक्षित गर्दै अटो र होम लोनको स्किम ल्याएको छौं। घर र घडेरी कर्जा ५.५१ प्रतिशत तथा अटो कर्जा ४.९० प्रतिशत ब्याजदरमा दिइरहेका छौं,’ उनले भने, ‘अटो कर्जा १ करोडसम्म तथा घर घडेरी कर्जा ३ करोडसम्म दिइरहेका छौं।’

अटो कर्जा ७ वर्ष तथा घर घडेरी कर्जा २० वर्ष अवधिका लागि हो। अटो कर्जामा सेवा शुल्क ०.५० प्रतिशत लाग्ने बैंकले जनाएको छ। यो बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ४.०१ प्रतिशत छ। बैंकले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडेर ५.७७ प्रतिशतमा कर्जा दिनेछ। बैंकले ३ लाख रुपैयाँसम्मको नि:शुल्क लाइफटाइम क्रेडिट कार्डको सुविधा दिने जनाएको छ।

मुक्तिनाथ विकास बैंकले दसैं तिहारलाई लक्षित गर्दै ‘मुक्तिनाथ घर कर्जा’ योजना ल्याएको छ। बैंकले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको योजना ल्याएको हो। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ५.५२ प्रतिशत छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ वर्ष अवधिका लागि स्थिर ५.७५ प्रतिशत ब्याजदरमा व्यवसायिक कर्जा योजना सार्वजनिक गरेको छ। नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ।

एनआइसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने जनाएको छ।

अधिकांश बैंकले घरजग्गा मेलाका लागि सार्वजनिक गरेका न्यून ब्याजदरका स्किमलाई चाडपर्व अवधिभरलाई निरन्तरता दिएका छन्। प्रभु बैंकले २५ वर्ष अवधिका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले ५.९९ प्रतिशत र सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरको होम लोनलाई चाडपर्व अवधिभर निरन्तरता दिने जनाएका छन्।

बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल ऋणीहरुका लागि कर्जा लिन अहिले जस्तो सुवर्ण अवसर कहिल्यै नहुने बताउँछन्। ‘कर्जाको ब्याजदर ४/५ प्रतिशतमा आएको छ। ५/६ प्रतिशत स्थिर ब्याजदरका स्किम बैंकहरुले ल्याएका छन्,’ उनले भने, ‘ऋण लिएर काम गर्न होस् वा घर बनाउन यो भन्दा राम्रो अवसर आउन सक्दैन।’

पछिल्लो तीन वर्षयता निरन्तर तरलता थुप्रिंदै ब्याजदर घटिरहँदा कर्जाको औसत वृद्धि ६ प्रतिशत वरिपरिछ।