न्यायालय कब्जा गर्ने योजनाकार सरकारको निशानामा, चोलेन्द्र र बिचौलियाको घरमा छापा

सविन ढकाल
२०८३ असोज २१ गते १५:१२ | Oct 7, 2026
न्यायालय कब्जा गर्ने योजनाकार सरकारको निशानामा, चोलेन्द्र र बिचौलियाको घरमा छापा


काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया र अरु तीन जनाको घरमा छापा हानेको छ।

GBIME
Tata

अदालतमा मुद्दा मिलाउन विभिन्न व्यक्तिबाट पैसा उठाएको भेटिएपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र लगायतको घरमा विभागले बुधबार अपराह्न छापा हानेको हो।

उच्च स्रोतका विभागले नारायण दाहाल, दीपक तिमिल्सिना र नवीन बस्नेतको घरमा छापा मारेको छ। उनीहरुले मुद्दा मिलाउन बिचौलियाको भूमिका निर्वाह गरेको देखिएका कारण छापा हानेको विभाग स्रोतले जनाएको छ।

चोलेन्द्रलाई नियन्त्रणमा लिएर मोबाइलको डेटा केलाउँदा भेटिएका इनम सापकोटामार्फत पूर्वमन्त्री, ठूला उद्योगी, सर्वोच्च अदालतका पूर्वन्यायाधीशसम्मको कनेक्सन भेटिएको थियो। उच्च स्रोतका अनुसार सर्वोच्च अदालतको मुद्दा मिलाउनका लागि सापकोटासँग कुराकानी भएको र खातामा पैसा आएको आधारमा उनीहरुको घरमा छापा मारिएको हो।

‘सापकोटाले बयानमा कुन मुद्दाका लागि कोसँग पैसा लिएको भनेर सबै बकिसकेका छन्। त्यही बयानका आधारमा उनीहरुमाथि निगरानी गरिएको थियो,’ स्रोतले भन्यो, ‘केही दिनदेखि निगरानीमा राखिएका ती सबैको घरमा छापा मारिएको हो।’

स्रोतका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश थपलियाको पनि राणासँग कनेक्सन भेटिएको छ। त्यसो त थपलियालाई २०७५ चैतमा राणाले नै उच्च अदालतको न्यायाधीश बनाएका हुन्।

राणाले थपलियालाई लामो समय सर्वोच्चको प्रधानन्यायाधीश बनाउने योजनासहित अदालतमा प्रवेश गराएका थिए। थपलिया राणाका नाममा घुस उठाउने न्यायाधीशका रुपमा कहलिएका थिए।

तर, कार्यक्षमता र आचरणमा प्रश्न उठेपछि ‍थपलियालाई २०८० फागुन १३ गते बर्खास्त गरिएको थियो। त्यतिखेर राणा सर्वोच्चबाट बिदा भइसकेका थिए। उनीमाथि राणा प्रधानन्यायाधीश रहेका बेला मुद्दामा सेटिङ गरेको आरोपमा न्याय परिषद्‍मा उजुरी परेको थियो। न्याय परिषद्ले सर्वोच्चका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानबिन समितिले थपलियालाई दोषी किटान गरेको थियो।

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश डा. मनोजकुमार शर्मा र उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश थपलियाबीच तत्कालीन प्रधानन्यायाधीश राणाबाट मुद्दामा अनुकूल फैसला गराउने सम्बन्धमा पटक-पटक कुराकानी भएको जिकिर गरेको थियो। शर्मा हाल प्रधानन्यायाधीश छन्।