एमजी हेक्टर टोमहक इभी ५७.९९ लाखमै आयो, सुरुका ५० ग्राहकलाई खरिदमा विशेष छुट 

बिजमाण्डू
२०८३ असोज २४ गते १३:०५ | Oct 10, 2026
एमजी हेक्टर टोमहक इभी ५७.९९ लाखमै आयो, सुरुका ५० ग्राहकलाई खरिदमा विशेष छुट 


काठमाडौं। एमजी मोटरको हेक्टर टोमहक इभीको एक्साइट भेरियन्ट नेपालमा ६१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक भएको छ। कम्पनीले पहिलो ग्राहकका लागि विशेष मूल्यमा गाडी उपलब्ध गराउने भएको छ।

GBIME
Tata

जसअनुसार पहिलो ५० जना ग्राहकले यो विद्युतीय एसयूभी ५७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। यसबाट ग्राहकले ४ लाख रुपैयाँ बचत गर्नेछन्।

एमजी हेक्टर टोमहक इभीमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। यसमा सिंगल पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। यसले २०४ पीएस पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। कम्पनीले दाबी गरेको रेन्ज ५१७ किलोमिटरसम्म छ। यद्यपि वास्तविक रेन्ज सडकको अवस्था, तापक्रम, गाडीमा रहेको भार र चलाउने शैलीअनुसार फरक पर्न सक्छ।

यसमा अगाडिका पाङ्ग्रामा शक्ति पुग्ने फ्रन्ट ह्विल ड्राइभ प्रणाली र अटोमेटिक ट्रान्समिसन छ। गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ। यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टासम्म रहेको विवरण छ।

यसमा ९० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट छ। उपयुक्त चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने विवरण छ। एसी चार्जिङबाट १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब १२ घण्टा ३० मिनेट लाग्ने उल्लेख छ। चार्जिङ समय प्रयोग गरिएको चार्जर र अन्य अवस्थाअनुसार फरक पर्न सक्छ।

डिजाइन र बाहिरी बनावट

हेक्टर टोमहक इभीको एक्साइट भेरियन्टमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, अगाडि उज्यालो हुने एमजी लोगो, एलइडी टेलल्याम्प र पछाडिको एलइडी फग ल्याम्प छन्। यसमा १८ इन्चका डुअल टोन अलोय ह्विल, रूफ रेल, रियर स्पोइलर, साइड क्ल्याडिङ तथा एलईडी टर्न इन्डिकेटरसहितका बाहिरी रियर भ्यु मिरर दिइएको छ।

गाडीमा कालो र खैरो रङको इन्टेरियर, लेदरेट सिट, लेदरेटले बेरिएको स्टेयरिङ ह्विल तथा ड्यासबोर्ड र डोर प्याडको फिनिसिङ छ। अगाडिको चालक सिट ६ तरिकाले विद्युतीय रूपमा मिलाउन सकिन्छ भने अगाडिको यात्रु सिट चार तरिकाले मिलाउन सकिन्छ।

दोस्रो पंक्तिका सिटलाई ६०:४० अनुपातमा फोल्ड गर्न सकिन्छ। पछाडिका सिट अगाडि–पछाडि सार्न र ढल्काउन मिल्छ। यसमा पछाडिका यात्रुका लागि एसी भेन्ट, अगाडि र पछाडि क्याबिन लाइट, अगाडिको सेन्टर आर्मरेस्टमा स्टोरेज र पछाडिको आर्मरेस्टमा कप होल्डर छ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ क्याबिन एयर फिल्टर, क्रुज कन्ट्रोल, पुश बटन स्टार्ट/स्टप, कीलेस इन्ट्री, विद्युतीय रूपमा मिलाउन र फोल्ड गर्न मिल्ने ओआरभीएम तथा १२ भोल्टको पावर आउटलेट पनि उपलब्ध छन्। यसमा प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र पावर टेलगेट भने एक्साइट भेरियन्टमा उपलब्ध छैनन्।

इन्फोटेनमेन्ट र स्मार्ट फिचर

यसमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ। ६ वटा स्पिकर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, स्टेयरिङबाटै अडियो नियन्त्रण गर्न मिल्ने सुविधा र एआई भ्वाइस असिस्टेन्ट उपलब्ध छन्।

त्यस्तै, जेस्चर कन्ट्रोल, डिजिटल की र कनेक्टेड कार प्रविधिका साथै पेट मोड, न्याप मोड, क्याम्प मोड, स्मोकिङ मोड, इनर्जाइजिङ मोड र इनबिल्ट कराओके जस्ता सुविधा पनि छन्।

सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम र चारै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ। यसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, पछाडिको पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर, आईएसओफिक्स चाइल्ड सिट एंकर तथा रियर वाइपर, वासर र डिफगर पनि छन्।

एक्साइट भेरियन्टमा ३६० डिग्री क्यामेरा र लेभल-२ एडीएएस भने उपलब्ध छैनन्। यी सुविधा माथिल्ला भेरियन्टमा छन्।

हेक्टर टोमहक इभी तीन भेरियन्ट एक्साइट, एक्सक्लुसिभ र एसेंसमा उपलब्ध हुने मोडल हो। जेपालमा एक्साइट भेरियन्ट मात्रै आएको छ।

नेपालमा यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा पहिलो ग्राहकका लागि ५७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य प्रस्ताव गरिएको छ। यो विशेष मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र हो।