काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
गण्डकी प्रदेशबाट ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८१ वर्षीय शोभाकान्त बरालले पहिलो मत खसालेका छन्।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि विभिन्न मतदान केन्द्रमा लाइन लागेका थिए। अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधिहरू मतदान सुरु भएपछि उत्साहित देखिएका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान सारिएको हो। साँझ मतदान सुरु गर्दा रातिसम्म बस्नुपर्ने र मतदातालाई असहज हुने भएकाले शुक्रबार बिहानबाट प्रक्रिया अघि बढाइएको उनले बताए।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्रमा हस्ताक्षर गर्ने काममा ३२ जना वरिष्ठ अधिवक्ता खटिएको जानकारी दिए। धेरै उम्मेदवार र मतदाता भएकाले मतपत्र छपाइ तथा व्यवस्थापनमा समय लागेको उनले बताए।
सदस्य सचिव कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने तयारी छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको ‘क’ केन्द्रमा तथा कोशी प्रदेश र तराई-मधेश समूहका प्रतिनिधिले खुलामञ्चको ‘ख’ केन्द्रमा मतदान गर्नेछन्।
गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हलमा मतदानको व्यवस्था गरिएको छ। मधेश प्रदेशका प्रतिनिधिले तराई-मधेश हलमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले पहाड हलमा मतदान गर्नेछन्।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोन लगायतका सामग्री लिएर मतदानस्थलमा प्रवेश गर्न नपाइने समितिले जनाएको छ।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले बेहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले प्रतिनिधिहरूको उक्त खर्च पार्टीले नै व्यहोर्ने जानकारी दिएका हुन्।
मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना सकिएपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ। नयाँ कार्यसमितिका लागि सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।









