काठमाडौं। कल्पना गरौं, टेबलमा कफीको कप छ, अगाडि ल्यापटप खुला छ। ल्यापटपबाट आफ्नै काम चलिरहेको छ, सँगै बैंकिङ सेवा पनि त्यहीँ उपलब्ध भइरहेको छ। पैसा डिपोजिट वा विथड्र, मोबाइल बैंकिङसम्बन्धी काम वा विदेश पढ्न जाने तयारीमा रहेकाहरुको आवश्यक भुक्तानी पनि त्यही टेबलबाटै।
सुन्दा यो कुनै आधुनिक क्याफेको अवधारणा जस्तो लाग्न सक्छ। तर, यो बैंकिङ क्षेत्रभित्रको नयाँ प्रयोग हो। बैंकिङ सेवा लिन अब आफ्नो काम छाडेर काउन्टरमा लाइन बस्नुपर्ने छैन। न त एउटा कामका लागि एउटा डेस्क र अर्को सेवाका लागि अर्कोे डेस्क धाउनु पर्नेछ। कफीको चुस्कीसँगै आरामदायी वातावरणमा बसेर एउटै टेबलबाट विभिन्न बैंकिङ सेवा लिन सकिने ठाउँ अब बैंकभित्रै छ।
काठमाडौंको ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकले सुरु गरेको कफी लाउन्ज तथा डिजिटल हबले बैंकिङको परम्परागत शैलीमा नयाँपन थपेको छ। बैंकमा पुग्ने ग्राहकले चिया-कफीको आनन्द लिनुका साथै इन्टरनेट चलाउन, आफ्नै काम गर्न र आवश्यक बैंकिङ सेवा सहज रूपमा लिन सक्नेछन्।
विशेषगरी डिजिटल पुस्तालाई लक्षित यो अवधारणाले बैंकलाई केवल कारोबार गर्ने ठाउँका रूपमा नभई केही समय बसेर काम गर्न, डिजिटल सेवा प्रयोग गर्न, बैंकिङबारे बुझ्न र आवश्यक परामर्श लिन सकिने स्पेसका रूपमा बुझाउने प्रयास गरेको छ।
कफीको चुस्कीसँगै बैंकिङ
‘बैंकिङ संस्कार सबैको छ र सबैले गरिरहेको हुनुहुन्छ। तर, केही फरक गर्ने उद्देश्यसहित कफी लाउन्ज एन्ड डिजिटल हब सुरुवात गरेका हौं,’ बैंकका मार्केटिङ तथा कम्युनिकेसन विभाग प्रमुख बसन्त बक्सी भन्छन्।

नेपालमा, विशेषगरी सिटी एरियामा, चिया तथा कफी कल्चर बढ्दो छ। युवा पुस्ता शान्त वातावरणमा कफी वा चियाको चुस्कीसँगै इन्टरनेट चलाउन, पढ्न, काम गर्न वा आफ्ना व्यक्तिगत गतिविधिमा समय बिताउन रुचाउँछ । यही बदलिँदो जीवनशैलीलाई बैंकिङसँग जोड्ने प्रयास गरिएको बक्सी बताउँछन्।
‘युवाहरूलाई ल्यापटपसहित क्याफेमा बसेर बैंकिङ सिक्दै वा सेवा लिँदै पढाइका कुरा गर्नुपर्ने होला, असाइनमेन्ट गर्नुपर्ने होला, यी सबै बैंकिङ एक्टिभिटीसँगै गर्न पाउन् भनेर कफी लाउन्ज नै सुरु गरेका छौं। यो बैंकिङ इन्डस्ट्रीमा पहिलो हो,’ उनी भन्छन्।
यस अर्थमा लाउन्ज केवल कफी पिउने ठाउँ होइन। बैंकिङ सेवा लिन आउने ग्राहकले आफ्नो नियमित कामलाई निरन्तरता दिंदै आवश्यक बैंकिङ काम पनि गर्न सक्ने गरी यसको अवधारणा बनाइएको छ।

युवामैत्री बैंकिङ
बैंकिङको शैलीसँगै ग्राहकको अपेक्षा पनि बदलिंदै गएको छ। डिजिटल पुस्ता अब केवल सेवा खोज्दैन, सेवा लिने क्रममा सहजता, गति र अनुभव पनि खोज्छ। महालक्ष्मी विकास बैंकको कफी लाउन्ज तथा डिजिटल हब त्यही बदलिंदो अपेक्षालाई सम्बोधन गर्ने प्रयासका रूपमा आएको बक्सी बताउँछन्।
बैंकमा गइ काम सकेर फर्किनेभन्दा केही समय बसेर बैंकिङसँग जोडिन सकिने वातावरण बनाउनु यसको उद्देश्य हो। काउन्टरमा उभिएर सेवा लिनुभन्दा टेबलमा बसेर कर्मचारीसँग प्रत्यक्ष संवाद गर्दै डिजिटल सेवा प्रयोग गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ।

लाउन्ज युवा पुस्तामा मात्र सीमित छैन। विभिन्न पेशा तथा व्यवसायसँग सम्बन्धित व्यक्तिले पनि यसको सुविधा लिन सक्ने बक्सी बताउँछन्।
विद्यार्थीका लागि फ्रि इन्टरनेटसहितको आरामदायी बसाइ अर्को आकर्षण हो। उनीहरुले पढाइ, असाइनमेन्ट वा व्यक्तिगत काम गर्न लाउन्ज प्रयोग गर्न सक्छन्। यसले क्याफेमा बस्ने र बैंकिङ गर्ने दुई फरक अनुभवलाई एउटै ठाउँमा ल्याएको छ।
डिजिटल बैंकिङको हब
महालक्ष्मीले लाउन्जलाई डिजिटल बैंकिङको हबका रूपमा विकास गर्ने रणनीति बनाएको छ। अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर पेमेन्टलगायत डिजिटल सेवाबारे जानकारी लिनेदेखि सेवा प्रयोग गर्नेसम्मका काममा कर्मचारीले सहयोग गर्नेछन्। लाउन्ज क्षेत्रमा अटोमेटेड मेसिनसमेत राखिएको छ, जसबाट ग्राहकले सहजै पैसा डिपोजिट तथा निकाल्न सक्नेछन्।

विदेश अध्ययनमा जाने विद्यार्थीलाई लक्षित सेवा पनि लाउन्जको अर्को विशेषता हो। जीआरई, टोफल, आईईएलटीएसलगायत परीक्षा शुल्क भुक्तानी लाउन्जबाटै गर्न सकिने बक्सी बताउँछन्। डिजिटल भुक्तानी प्रक्रियामा बैंकका कर्मचारीले आवश्यक सहयोग गर्नेछन्।
ऋण लिन चाहने ग्राहकले आवश्यक जानकारी र सहयोग लिन सक्नेछन्। ज्ञानेश्वरस्थित यही भवनमा बैंकको शाखासमेत रहेकाले ग्राहकले आवश्यक अन्य बैंकिङ सेवा पनि लिन सक्नेछन्।
‘तपाइँ कुनै बैंकमा छिर्दै हुनुहुन्छ भने क्यास डिपोजिट एकातिर, लोनका लागि अर्कातिर, डिजिटल बैंकिङ सेवाका लागि फेरी अर्कातरि गएर फारम भर्नेदेखि विभिन्न ढोका वा डेस्कमा धाइरहनु पर्छ । तर, महालक्ष्मीको कफी लाउन्जमा छिर्नुभयो भने तपाइँँले चाहेको सम्पूर्ण बैंकिङ सेवा चिया–कफीसँगै एउटै टेबलबाट लिन सक्नुहुन्छ,’ बक्सी भन्छन्।
यो अवधारणाले परम्परागत बैंकिङको काउन्टर, टोकन, क्यूको शैलीलाई केही फरक बनाउने प्रयास गरेको छ। ग्राहकलाई सेवा मात्र होइन, सेवा लिँदाको वातावरण र अनुभवलाई पनि प्राथमिकतामा राखिएको छ।
कसरी लिने कफी लाउन्जको सुविधा?
बैंकको भवन प्रवेश गर्नेबित्तिकै कफी लाउन्ज तथा डिजिटल हबले स्वागत गर्नेछ। बैंकका कर्मचारीले ग्राहकको आवश्यकता अनुसार लाउन्जको आरामदायी सेटअपमा बसेर सेवा उपलब्ध गराउनेछन्।
पैसा डिपोजिट वा विथड्रदेखि मोबाइल बैंकिङ, विभिन्न कन्सल्टेन्सीका फी, विदेशी विश्वविद्यालयको फी पेमेन्ट, ऋणसम्बन्धी जानकारी तथा डिजिटल पेमेन्टसम्मका काममा आवश्यक सहयोग कर्मचारीले नै गर्नेछन्।

कफी लाउन्ज तथा डिजिटल हब बैंकिङको भौतिक ठाउँलाई मात्र परिवर्तन गर्ने प्रयास होइन, ग्राहक र बैंकबीचको सम्बन्धलाई पनि नयाँ ढंगले परिभाषित गर्न खोजिएको छ।
बैंकिङका लागि बैंक पुग्नु भनेको अब केवल पैसा जम्मा गर्ने, निकाल्ने वा कुनै सेवा लिन लाइन बस्ने कुरा मात्र रहेन। विशेषगरी डिजिटल पुस्ताका लागि बैंकिङ सेवा छिटो, सरल र आफ्नो दैनिकीसँग मिल्ने हुनुपर्छ।

महालक्ष्मी विकास बैंकको कफी लाउन्ज तथा डिजिटल हबले यही अपेक्षालाई सम्बोधन गर्न खोजेको हो। बैंकिङलाई काउन्टर र कारोबारबाट केही पर लैजाँदै ग्राहकको समय, सुविधा र जीवनशैलीसँग जोड्ने प्रयासमार्फत महालक्ष्मीले अब कारोबारका लागि ‘बैंक जाऔं’ भन्ने मात्र होइन, ‘बैंकिङ अनुभव गरौं’ भन्ने सन्देश दिन खोजेको छ।









