काठमाडौं। बाढीबाट जनधनको ठूलो क्षति भएको घटनामा उद्धार, राहत र पुनःस्थापनमा सघाउन निजी क्षेत्र सरकारका साथ उभिएको छ। भोटेकोशी बाढीले भएको अकल्पनीय क्षतिमा प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रले उदार हिसाबले सहयोग घोषणा गर्न थालेको हो।
सरकारले सार्वजनिक रुपमै नागरिक तथा संघसंस्थाहरुसँग आर्थिक सहयोग तथा राहतका लागि अपिल गरेको छ। यसअनुसार निजी क्षेत्रले सरकारमार्फत प्रभावितहरुलाई सहयोग गर्ने घोषणा पनि सुरु गरिसकेको छ।

ग्लोबल आइएमई बैंकले सरकारले स्थापना गरेको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ। हरेक विपतहरुमा सरकारसँगै उभिँदै आएको बैंकले राष्ट्रिय संकटबाट बाहिर निस्कन समन्वय र सहकार्यमा जोड दिएको छ।
भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रभावित क्षेत्रमा सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ।
यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ।
यसबाहेक विपत्त प्रभावित क्षेत्रहरुमा खोज, उद्धार तथा अनुगमनका लागि ३९ लाख रुपैयाँ बराबको ५ वटा अत्याधुनिक एआइ जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताको पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सानाको नुवाकोट क्याम्पलाई हस्तान्तरणका लागि पठाइसकेको छ।
उद्यमी शेखर गोल्छाले पनि राहत घोषणा गरेका छन्। उनले गोल्छा समूहका तर्फबाट एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

‘यस्तो कठिन घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनु हाम्रो साझा जिम्मेवारी हो।’
संस्थागत रुपमै नेपाल बैंकर्स संघले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्दो योगदान गर्ने घोषणा गरेको छ। वाणिज्य बैंकहरुको छाता संगठन संघले सरकारको राहत, उद्धार तथा पुनर्स्थापना प्रयासमा साथ दिने भन्दै विज्ञप्ति जारी गरेको छ।

संघको सदस्य रहेका ९ वाणिज्य बैंकका २६ कर्मचारी अहिले पनि सम्पर्क बाहिर छन्। संघले प्रभावित कर्मचारी, उनका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग गर्न बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट योगदान पुर्याउन आह्वान समेत गरेको छ।
नेपाल बैंकर्स संघ सरकारसँगको सहकार्यमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनर्स्थापनाका लागि आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको जनाएको छ।
बुधबार रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण व्यापक रुपमा मानवीय, जनधन तथा भौतिक संरचनामा क्षति भएको छ।
संघले बाढी प्रभावित जिल्लाहरुमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ। बाढी तथा डुबानका कारण प्रभावित जिल्लाहरुमा बैंकका केही शाखाहरु समेत प्रभावित भएका छन्। त्यसका साथै विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लाहरुमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको छ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य संस्थाहरुलाई सहयोगका लागि अपिल गरेको छ। संघले व्यवसायीहरुलाई उद्धार र राहतका लागि आह्वान गरेको छ। नाडाले तत्काल राहतका लागि १० लाख रुपैयाँ सहयोग पठाउने निर्णय गरेको छ।
यसअघि बुधबार नै बाढीले गरेको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तत्काल प्राथमिकताका साथ उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन सबैमा अपिल गरेको थियो। पुनःस्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा रहेको जानकारी गराएको थियो।











