काठमाडौं। बुधबार बिहान भोटेकोशीमा गएको बाढीपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा उच्च तहका प्रहरी अधिकृतको बैठक बस्यो।
आफ्नै २८ जना प्रहरी कर्मचारी नै सम्पर्कविहीन हुँदा रसुवाको केही विवरण सङ्कलन र उद्धारमा समेत असर पुगेको निष्कर्ष समेत निकाल्यो। सुरक्षाकर्मीले दिनभर अथक प्रयास गरे तर कतै भूगोल त कतै मौसमले साथ नदिँदा सबै ठाउँमा प्रहरी पुग्न सकेन।
उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू सहज रूपमा परिचालन हुन नसकेको प्रहरीले जनाएको छ। सडक र सञ्चार सम्पर्क पुनःस्थापित नहुँदा प्रभावित क्षेत्रको अवस्था अझै पूर्ण रूपमा खुल्न सकेको छैन।
बैठकले एआईजीदेखि एसपीसम्मको टोली परिचालन गर्ने निर्णय गरेको छ। टोलीले क्षतिको विवरण संकलन, शव व्यवस्थापन, सम्पर्क स्थापना र सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी गर्नेछ।
रसुवामा ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका केही सुरक्षाकर्मी सम्पर्कविहीन हुँदा उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भएको छ।
रसुवाको माथिल्लो भेगमा बाढीको छाल र खराब मौसमका कारण हेलिकप्टरसमेत सहजै पुग्न सकेनन्। पृथ्वीराजमार्ग अवरुद्ध हुँदा स्थलमार्गबाट धादिङ र नुवाकोट हुँदै सुरक्षाकर्मी पठाउन पनि समस्या भएको छ।
सञ्चार सम्पर्क र सडक अवरुद्ध हुँदा प्रहरीले समयमा घटनाको विवरण पाउन सकेको छैन। स्थानीय तहमा रहेका सुरक्षाकर्मीसमेत सम्पर्कमा नहुँदा क्षतिको वास्तविक अवस्था बुझ्न कठिन भएको अधिकारीहरूले बताएका छन्।

‘विभिन्न कारणले समयमा सूचना सङ्कलन हुन सकेन। धेरै हाम्रा प्रहरी नै सम्पर्कविहीन भएको अवस्था छ,’ नेपाल प्रहरीका डीआइजी अभिनारायण काफ्लेले भने।
बाढीका कारण रसुवाको माथिल्लो क्षेत्रमा प्रहरी कार्यालयसमेत प्रभावित भएका छन्। टिमुरे, स्याफ्रुबेँसी लगायतका प्रहरी कार्यालय बाढीको चपेटामा परेका छन्।
उद्धारका लागि नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ हेलिकप्टर परिचालन गरिएको थियो। हेलिकप्टर र ड्रोनको प्रयोग गरेर बुधबार दिनभर खोजी तथा उद्धार अभियान चलाइएको थियो।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ। निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले थप २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले टिमुरे-धुन्चेबाट ६० जना, टिमुरे-त्रिशूलीबाट १३ जना र मैलुङबाट ५ जनाको उद्धार गरेको हो। त्यस्तै बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौं ३ जनालाई उद्धार गरिएको छ।
निजी क्षेत्रका हेलिकप्टरले पनि रसुवाबाट काठमाडौंका विभिन्न अस्पतालमा घाइते तथा प्रभावितलाई ल्याएका छन्। कैलाश, सिम्रिक, अन्नपूर्ण, प्रभु, फिसटेल र एभरेस्ट हेलिकप्टरले उद्धारमा सहयोग गरेका छन्।
‘रसुवामा अहिले हेलिकप्टरबाट बाहेक उद्धार गर्न गाह्रो छ। धेरै ठाउँमा बाटोको कारण अवरोध भएको छ,’ बागमती प्रदेश प्रहरी कार्यालयका डीआइजी दीपक रेग्मीले भने।

पृथ्वीराजमार्गअन्तर्गत खैरेनीमा लेदो खसेपछि सडक बन्द भएको छ। गल्छीमा पुल बगेपछि सुरक्षाकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न थप समस्या भएको छ।
प्राकृतिक विपत्ति र भौगोलिक कठिनाइसँगै मौसमले पनि उद्धारमा चुनौती थपेको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइने सुरक्षाकर्मीले बताएका छन्।
नेपाल सेनाका प्रवक्ता राजराम बस्नेतले मौसम र भौगोलिक अवस्थाका कारण केही स्थानमा हवाई उद्धारमा समस्या भएको बताए।
‘रसुवामा छालको कारण अवतरण गर्न गाह्रो थियो। केही स्थानमा कुहिरो र खोचको कारणले पनि हवाइ उडान भएन। तर, पनि हाम्रो टोलीले प्रयास गरिरहेको छ,’ प्रवक्ता बस्नेतले भने।










