चितवनमा लक्जरियस रिसोर्ट लटौलीमा बसेका बालेनलाई पोखरामा सामान्य होटल‍, छैन तातोपानी र एसी



बिजमाण्डू
२०८३ भदौ ५ गते १६:५५ | Aug 21, 2026
चितवनमा लक्जरियस रिसोर्ट लटौलीमा बसेका बालेनलाई पोखरामा सामान्य होटल‍, छैन तातोपानी र एसी


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका बेला दुई महिनाअघि चितवनमा लक्जरियस रिसोर्ट लटौली स्याङ्चुरीमा बसेका प्रधानमन्त्री बालेनद्र शाहले पोखरामा भने सामान्य होटल रोजेका छन्।

Tata
GBIME

बालेन शुक्रबार बस्न लागेको पोखराको अन्नपूर्ण इको भिलेज होटलमा तातोपानी (गिजर तथा सोलारको पानी) र एयर कन्डिसन पनि छैन।

२० कोठाको यो होटल विश्व अधिकारीको परिवारले चलाउँदै आएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित होटल बालेनको रोजाइमा पर्नु त्यहाँबाट हिमाल एकदमै नजिक र स्पस्ट देख्न सकिनु हो। स्रोतका अनुसार पर्यटनमन्त्री खडक राज पौडेलको ‘रिकमेन्डेसन’मा बालेन त्यो होटलमा बस्न लागेका हुन्।

‘अन्नपूर्ण र मनास्लु रेन्ज एकदमै राम्रोसँग देखिन्छ। त्यसबाहेक गाउँ भएकाले बसाइ एकदमै शान्त हुन्छ,’ एक होटल व्यवसायीले बिजमाण्डूसँग भने, ‘होटलको रुमरेट पनि खान र बस्नसहित पाँच हजार रुपैयाँ भन्दा पर्दैन।’

होटलले खानामा स्थानीय उत्पादन सर्भ गर्छ। चियादेखि वेलकम ड्रिंक्ससम्म पनि स्थानीय उत्पादन पाइन्छ।

मुस्ताङ जान हेलिकोप्टर कि गाडी?

प्रधानमन्त्री बालेन मुस्ताङ गाडीबाटै जाने वा हेलिकोप्टर प्रयोग गर्ने भन्ने निर्णय नभएको स्रोतले बतायो। स्रोतका अनुसार मौसम र सडकको परिस्थिति हेरेर निर्णय गरिनेछ। बालेन शनिबार मुस्ताङ जाने तालिका छ। बालेनसँग उनका प्रमुख सल्लाहकार कुमार बेन तथा अरु सल्लाहकार विवेक मिश्र र सुवास शर्मा गएका छन्।

डेस्टिनेसन प्रमोसन

प्रधानमन्त्री बालेनले नियमित रुपमा देशका विभिन्न पर्यटकीय गन्तव्यमा जाने कार्यक्रम बनाएका छन्। पर्यटन प्रवर्धनको उद्देश्यसहित उनले समय मिलाएर महिनामा एउटा गन्तव्यमा पुग्नेगरी कार्यक्रम बनाउने स्रोतले बनायो।

‘स्वदेशी वस्तु प्रवर्धनसहित पर्यटन क्षेत्रलाई समेत सुदृढ बनाउने उद्देश्यसहित फुर्सद हुनेबित्तिकै पर्यटकीय गन्तव्यमा पुग्ने रणनीति छ। यसले हाम्रो पर्यटन क्षेत्रको प्रचारप्रसार भएर पर्यटक आगमन पनि बढ्छ,’ स्रोतले भन्यो, ‘मिलेमा हप्ता हप्ता नमिले महिनामा एकपटक एउटा गन्तव्यमा पुग्ने भनिएको छ।’