बाढीले रसुवामा ठूलो तहसनहस, भन्सारबाट ५०० गाडी बगायो, ७ जलविद्युत आयोजनामा क्षति



बिजमाण्डू
२०८३ भदौ १० गते ११:२८ | Aug 26, 2026
बाढीले रसुवामा ठूलो तहसनहस, भन्सारबाट ५०० गाडी बगायो, ७ जलविद्युत आयोजनामा क्षति


काठमाडौं। भोटेकोशी नदीमा अकस्मात आएको बाढीले रसुवामा ठूलो भौतिक क्षति भएको छ। बाढीले रसुवा भन्सार क्षेत्रमा ५०० भन्दा बढी सवारीसाधन बगाएको छ भने ७ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। निजी घरहरु पनि ठूलो संख्यामा बगाएको छ।

Vigo
GBIME
Tata

रसुवा भन्सारका प्रमुख राजेन्द्र ढुंगानाले भन्सार क्षेत्रमा करिब ५०० सवारीसाधन रहेकामा बाढीले सबै बगाएको जानकारी दिए। ‘माथिबाट आएको बाढीले भन्सार क्षेत्रमा केही पनि बाँकी छैन,’ उनले भने।

व्यवसायीले नाइमा र नाडा अटो शोका लागि भनेर ल्याएका गाडी भन्सार क्षेत्रमा थिए। बीवाइडी, एमजी, वुलिङ, ओमोडा एण्ड जेको, नामी जस्ता गाडी व्यवसायीले रसुवा भन्सारबाट ल्याउने गरेका छन्। बाढीले बीवाइडी गाडी मात्र २०० भन्दा बढी बगाएको छ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षत्रीले बाढीले कति गाडी बगायो भन्ने यकिन हुन बाँकी रहेको बताए। ‘हामीले मगाएका गाडीहरु भन्सारबाट छुटाउने क्रममा थिए। चीनतर्फ रहेका गाडीमा क्षति पुगेको छैन भन्ने खबर छ। तर चीनबाट नेपालतर्फ कति ल्याइएको थियो भन्ने यकिन हुन बाँकी छ,’ उनले भने।

कर्मचारीहरु अहिले सुरक्षित भन्सार क्षेत्रबाट माथि जंगल क्षेत्रमा छन्।

बाढीले ७ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

चिलिमे, १११ मेगावाटको रसुवागढी हाइड्रोपावर, ६० मेगावाटको अप्पर त्रिशुली-२ ए, २४ मेगावाटको त्रिशुली हाइड्रोपावर, १४.१ मेगावाटको देवीघाट हाइड्रोपावर, ३७ मेगावाट त्रिशुली-३बी लगायतमा ठूलो क्षति पुगेको छ। २१६ मेगावाट क्षमताको अप्पर त्रिशुली आयोजना र ५ मेगावाटको सानो मैलुङमा पनि क्षति पुगेको छ।

२२०/१३२/३३ केभीको त्रिशुली ३ बी सबस्टेसनमा पनि क्षति पुगेको छ। क्षतिका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ।२५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन पनि बगाएको छ ।

‘७ वटा आयोजना क्षति पुगेको जानकारी आएको छ। हामीले त्यहाँका कर्मचारीलाई सम्पर्क गर्न खोज्दा हामीलाई सम्पर्क हुन सकेको छैन,’ प्राधिकरणका कार्यकारी निर्देशकको सचिवालयका एक कर्मचारीले भने।

बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ। देवीघाट क्षेत्र पनि प्रभावित भएको छ। बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

बाढीले त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीले टिमुरेमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएपछि टिमुरेमा ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको बताए। ‘टिमुरेमा रहेको बीओपी सुरक्षित छ, तर ड्युटीमा खटिएको टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने।