मुरारका समूहले किन्यो अक्वा हन्ड्रेड, स्प्रिङ वाटर ल्याउन मुहान खोज्दै, विदेश पनि निकासी गर्ने



बिजमाण्डू
२०८३ भदौ ३ गते १२:५४ | Aug 19, 2026
मुरारका समूहले किन्यो अक्वा हन्ड्रेड, स्प्रिङ वाटर ल्याउन मुहान खोज्दै, विदेश पनि निकासी गर्ने


काठमाडौं। सिमेन्ट, पेन्ट्स, खानेतेल, बैंक तथा वित्तीय संस्था, ऊर्जा क्षेत्रमा लगानी गरिरहेको मुरारका समूहले अक्वा हन्ड्रेड मिनरल वाटर उद्योग किनेको छ।

Tata
GBIME

नेपालमै पहिलो पटक बोतल र जारमा पानी भरेर बिक्री गर्दै आएको अक्वा मिनरल्स नेपाल प्राइभेट लिमिटेड एससी दुगड ग्रुपको लगानीमा स्थापना भएकामा केही समयअघि खरिदबिक्री सम्झौता गरेर मुरारका समूहले उद्योगको व्यवस्थापन हेर्न थालिसकेको छ।

मुरारका समूहबाट यो उद्योग वेदिका मुरारकाले हेर्न थालेकी हुन्। वेदिका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाकी छोरी हुन्।

यो उद्योगले उच्च गुणस्तरको प्लान्टबाट प्रशोधित मिनरल वाटर बिक्री गर्दै आएको छ। ३५ वर्षअघि बालाजु औद्योगिक क्षेत्रमा स्थापना भएको यो उद्योगबाट उत्पादित प्रशोधित पानी प्रिमियम मूल्यमा बिक्री हुन्छ। उद्योगले अन्तर्राष्ट्रिय मान्यता आइएसओ ९००१ गुणस्तर व्यवस्थापन समेत पाएको छ।

प्रबन्ध निर्देशक मुरारकाले प्रिमियम सेग्मेन्टमा बिक्री भइरहेको अक्वामा ठूलो सम्भावना देखेर लगानी गरेको बताए। ‘३५ वर्षअघि स्थापना भएको यो उद्योगको प्लान्ट अन्तर्राष्ट्रिय स्तरको छ। यसबाट उत्पादित प्रशोधित पानी उच्च गुणस्तरको भएकाले बजारीकरणमा कुनै समस्या छैन,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले यसमा एग्रेसिभ मार्केटिङ गरेर देशैभरी पुर्‍याउने योजना समेत बनाइसकेका छौं।’

एससी दुगड ग्रुपबाट यो उद्योग सञ्जय दुगडले हेर्दै आएका थिए। दुगड समूह पानीको बजारीकरणमा एग्रेसिभ थिएन। संचालकहरुका लागि यो प्लान्ट धेरै प्राथमिकतामा थिएन। उपभोक्ताले रुचाए पनि मिनरल वाटर देशभरी बिक्री वितरण गरिएको थिएन। भाटभटेनी र बिगमार्टको काठमाडौं बाहिरका आउटलेटमा मात्रै अक्वा मिनरल वाटर पाइन्थ्यो।

मुरारका समूहले देशैभरी अक्वा पुर्‍याउने गरी काम अघि बढासकेको छ। अक्वाको प्रतिस्पर्धा अब कोकाकोलाको किन्ले, पेप्सीकोको अक्वाफिना, पार्ले एग्रोको बेली, रसुवा र पूर्णा वाटरसँग हुनेछ। उद्योगले १९ लिटरको रिफिल जार पनि बिक्री वितरण गर्छ।

मुरारका समूहले जारको पानी बिक्रीलाई पनि अझै प्रभावकारी बनाउने भएको छ। अहिले बैंक तथा वित्तीय संस्था, अस्पताल, सिंहदरबारमा रहेका मन्त्रालय, कर्पोरेट हाउस र घरघरमा जारको पानी बिक्री हुन्छ। ‘हामीले अहिले सिधै जारको पानी घरघरमा पुर्‍याउँछौं। यसलाई अझै प्रभावकारी नेटवर्क बनाएर लैजान्छौं,’ मुरारकाले भने।

उनका अनुसार अक्वाले शुद्ध पानीका लागि पोलिकार्बोनेट जार ल्याएको छ। ‘पानी मात्रै राम्रो भएर हुँदैन। पानी राख्ने भाँडो पनि राम्रो हुनुपर्छ। त्यसैले हामीले पोलिकार्बोनेट जार प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘यो जारलाई एक सय डिग्री तापक्रममा सफा गर्न मिल्छ। महँगै भए पनि पानीमा हेलचक्र्याईं गर्न हुन्न भनेर गुणस्तरीय जार प्रयोग गरेका हौं।’

उद्योगमा प्रयोग गरिएको पानी शुद्धीकरण रिभर्स अस्मोसिस(आरओ) हो। यसलाई युभी स्टेरेलाइजेसन र ओजोनेसन प्रविधि संयोजन गरेर धेरै चरणमा शुद्धीकरण गरिएकाले पानीको गुणस्तरमा नयाँ मापदण्ड तय गरेको मुरारकाको जिकिर छ। ‘हामीले प्लान्ट र प्रविधि हेरेर लगानी गरेका हौं। मिनरल वाटर बजारमा स्थापित गरेको मापदण्डलाई कायम गरी अझै विस्तार हुने रणनीतिसहित हामीले यो उद्योग किनेका हौं,’ उनले भने।

उद्योगबाट २५० मिलिलिटर, ५०० मिलिलिटर, एक लिटर, दुई लिटर, पाँच लिटरका बोतलमा मिनरल वाटर प्रशोधन गरेर बजारमा पठाइन्छ। यसबाहेक उद्योगबाट क्रिस्टल क्लियर आइस क्युब पनि उत्पादन हुने गरेको छ।

स्प्रिङ वाटर पनि आउँदै

मुरारका समूहले स्प्रिङ वाटर समेत प्रशोधन गरेर बजारमा ल्याउने योजना बनाएको छ। यसका लागि समूहले रसुवा लगायत विभिन्न स्थानका केही मुल पनि हेरिसकेको छ।

मुरारकाले तीन/चार ठाउँमा स्प्रिङ वाटर प्रशोधन गरेर बेच्नका लागि मुल हेरेको तर टुंगो लाग्न बाँकी रहेको बताए। समूहले स्प्रिङ वाटर भने विदेश निकासी गर्ने लक्ष्य राखेको छ।

‘पानीमा देशभित्र मात्रै होइन, विदेशमा पनि अपार सम्भावना छ। त्यही सम्भावना देखेर हामीले हात हालेका हौं। बालाजुको प्लान्ट मिनरल वाटर उत्पादन गरेर बेचिरहन्छौं। हाइइन्डका लागि स्प्रिङ वाटर प्रशोधन गरेर विदेश निकासी गर्ने योजना बनाएका छौं,’ उनले भने।

पानीमा ठूला घरानाको प्रतिस्पर्धा

पछिल्लो समय पानीमा ठूला घरानाबीच लगानीको प्रतिस्पर्धा चलेको छ। केही समयअघि केडिया अर्गनाइजेसनले पनि पानी उद्योगमा लगानी गरेको थियो।

ब्रिज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडमा करिब १८ करोड लगानी गरेर केडिया समूह मिनरल वाटर व्यापारमा प्रवेश गरेको थियो। दुई वर्षअघि चन्द्रागिरिमा स्थापना गरिएको यो उद्योगले पूर्णा ब्राण्डमा मिनिरल वाटर बजारमा ल्याइरहेको छ।

गोल्यान समूहले माटो ब्राण्डमा पानी प्रशोधन गरेर बिक्री वितरण गर्दै आएको छ। यही प्रतिस्पर्धामा मुरारका समूह पनि थपिएको हो। ठूला घराना र बहुराष्ट्रिय कम्पनी समेतले गर्दा मिनरल वाटर व्यवसायमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ।