काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफामा गरिवाट आएको छ। प्राधिकरणको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब ९७ करोडले घटेको हो।
आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक २०८१/८२ मा प्राधिकरणको नाफा ८ अर्ब ६ करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा विदेशी विनिमय दर वृद्धिका कारण प्राधिकरणको दायित्व मात्रै २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड पुगेको छ।
विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व बढेको,दायित्व, ब्याज र ह्रासकट्टी खर्च बढेका नाफा घटेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए।
आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ।
जसमध्ये विद्युत बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले वृद्धि भएर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ भएको छ।
त्यस्तै, कार्यसम्पादन सुधार, विद्युत चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा भने १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ। संचालन मुनाफा ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड पुगेको भनिएको छ।
तथ्यांक अनुसार प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७१ अर्ब १९ करोड २० लाख पुगेको छ। निर्माणाधीन पूँजीगत आयोजनाहरूमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख लगानी रहेको छ भने यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख पूँजीकरण भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत निःशुल्क दिइएको छ। औसत बिक्री दर प्रतियुनिट रु. ९.६८ रहेको छ भने प्रतिग्राहक खपत बढेर २,०८८ युनिट पुगेको जनाइएको छ। अनलाइनमार्फत महसुल संकलनन बढेको तथ्यांकले देखाउँछ। अनलाइनबाट ४० अर्ब ९९ करोड रुपैयाँ उठेको छ। अघिल्लो वर्ष ३४ अर्ब ३३ करोड उठेको थियो।
कुलमानको चिन्ता
आज ४१औँ वर्ष पूरा गरेको अवसरमा प्राधिकरणलाई शुभकामना दिँदै पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले नाफा ‘लोडसेडिङ गराउने संस्था’का रूपमा चिनिएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ पछि आफ्नो पहिचान नै बदलेको बताएका छन्।
उनले लोडसेडिङको अन्त्यदेखि झण्डै शतप्रतिशत विद्युतीकरणसम्म, विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्नेदेखि घाटाको संस्था नाफामा आई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने संस्था अहिले ओरालो यात्रामा रहेको भन्दै चिन्ता पनि व्यक्त गरे।
‘आज प्राधिकरणको नाफा संकुचन भइरहेको (आ व २०८१/८२ को १२ अर्ववाट आ व २०८२/८३ मा करअघिको नाफा करिव ५ अर्व मात्र रहेको) विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक छ,’ उनले भनेका छन्।
उनले यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु नभइ अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु रहेको बताएका छन्।










