कपनस्थित सिप्रदी वर्कसपमा सञ्चालनमा आयो ८६.४ किलोवाट पिक क्षमताको सोलार प्लान्ट



बिजमाण्डू
२०८३ साउन २५ गते १२:५९ | Aug 10, 2026
कपनस्थित सिप्रदी वर्कसपमा सञ्चालनमा आयो ८६.४ किलोवाट पिक क्षमताको सोलार प्लान्ट


काठमाडौं। सिप्रदी ट्रेडिङ र प्राइम रिन्युएबल्सको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार पीभी प्लान्ट सञ्चालनमा आएको छ। प्लान्टले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ।

Tata
GBIME

प्लान्टको सोमबार आयोजित विशेष समारोहबीच सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे।

प्लान्ट सञ्चालनमा आएपछि कपनस्थित सिप्रदीको इभी वर्कसपमा हुने चार्जिङ, मर्मत तथा सर्भिसिङका लागि आवश्यक विद्युतको केही हिस्सा सौर्य ऊर्जाबाट आपूर्ति हुनेछ। यसले स्वच्छ ऊर्जाको प्रयोग बढाउनुका साथै वर्कसपको विद्युत् खर्च घटाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले सिप्रदी विद्युतीय सवारीसाधनको बिक्री र वितरणमा मात्र सीमित नरहेको बताए। ईभीको प्रयोगदेखि चार्जिङ र सर्भिसिङसम्मको सम्पूर्ण प्रक्रियालाई वातावरणमैत्री बनाउने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।

‘इभी आफैँमा वातावरणमैत्री छ। अब यसको चार्जिङ, मर्मत र सर्भिसिङ पनि स्वच्छ ऊर्जाबाट गर्ने प्रयास थालेका छौँ,’ श्रेष्ठले भने।

उनका अनुसार कपन वर्कसपमा सौर्य प्लान्ट स्थापना हुनु कम्पनीको दिगो व्यवसायप्रतिको प्रतिबद्धताको महत्त्वपूर्ण कदम हो।

प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले पनि विद्युतीय सवारीसाधनलाई ऊर्जा दिने स्रोत स्वच्छ हुनुपर्ने बताए। ईभीको प्रयोग मात्र बढाएर दिगो यातायात प्रणाली निर्माण नहुने उनको भनाइ थियो।

‘इभी मोबिलिटीलाई ऊर्जा दिने स्रोत पनि सवारीसाधनजत्तिकै स्वच्छ हुनुपर्छ,’ गर्गले भने।

सौर्य ऊर्जाको प्रयोगमार्फत इभी इकोसिस्टमका अन्य गतिविधिलाई पनि कम कार्बन उत्सर्जनतर्फ लैजान सकिने उनले बताए।

उनका अनुसार सिप्रदी ट्रेडिङ र टाटा मोटर्सजस्ता ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको सम्भावना देखाउने अवसर दिएको छ। यसबाट विद्युत् खर्च घट्नुका साथै अटोमोबाइल सर्भिसिङ क्षेत्रको कार्बन उत्सर्जन कम गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। इभीको संख्या बढेसँगै त्यसका लागि आवश्यक चार्जिङ पूर्वाधार र ऊर्जा स्रोतको विषय पनि महत्त्वपूर्ण बन्दै गएको छ।

यस्तो अवस्थामा इभीसँगै स्वच्छ ऊर्जा प्रयोगलाई जोड्ने प्रयासले दिगो यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याउने देखिन्छ। कपनमा सञ्चालनमा आएको सौर्य प्लान्ट पनि यही प्रयासको एक उदाहरण हो।

सम्झौता भएको करिब ३ महिनामै प्लान्टको निर्माण सम्पन्न गरिएको कम्पनीहरूले जनाएका छन्। प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधिको प्रयोग गरिएको छ।

प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट विद्युत् उत्पादन हुनेछ। यसले परम्परागत ऊर्जा स्रोतमा निर्भरता घटाउन सहयोग गर्नेछ।

साथै, कार्बन उत्सर्जन न्यूनीकरणमा पनि यसको योगदान रहने अपेक्षा गरिएको छ। सौर्य ऊर्जाको उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एउटै पूर्वाधारमा जोडिएको यो परियोजनाले व्यावसायिक क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।